पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपामा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै बिश्वेश्वरप्रसाद (बिपी) कोइरालालाई पनि स्मरण गरेका छन्।
बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै ओलीले पुष्पलाल र बिपी दुवै जनाले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा असाधारण योगदान दिएको बताएका हुन्। उनले उनीहरूको योगदानबाट सिक्दै अगाडि बढ्ने प्रण पनि व्यक्त गरे।
ओलीले पुष्पलाललाई कम्युनिस्ट पार्टीका संस्थापक मात्रै नभई नेपाली राजनीतिका सही विश्लेषक, इतिहासको नयाँ ढंगले व्याख्या गर्ने इतिहासकार, राजनीतिक साहित्यका प्रखर विश्लेषक र असाधारण चिन्तकका रूपमा चित्रण गरे।
उनले पुष्पलालले राणा शासनविरोधी संघर्षदेखि पञ्चायती अधिनायकवाद र निरंकुश राजतन्त्रविरुद्धको आन्दोलनमा निरन्तर योगदान दिएको उल्लेख गरे। निर्वासनमै जीवन बिताएका पुष्पलालको अकाल मृत्यु भएको र उनको शव काठमाडौं ल्याउन समेत नदिइएको भन्दै ओलीले तत्कालीन व्यवस्थाको आलोचना गरे।
ओलीले पुष्पलालले लोकतान्त्रिक र प्रगतिवादी शक्तिहरू मिलेर अधिनायकवादविरुद्ध लड्नुपर्छ भन्ने नीति अघि सारेको बताए। उनले पछि नेकपा मालेले सोही नीति अपनाएको र कांग्रेस नेतृत्वसँग सहकार्य हुँदा २०४६ सालको राजनीतिक परिवर्तन सम्भव भएको दाबी गरे।
उनले पुष्पलालका धेरै नीतिहरू अहिले पनि सान्दर्भिक रहेको र उनका विचारहरूले आज पनि बाटो देखाइरहेको बताए। साथै, मदन भण्डारीको अगुवाइमा अघि सारिएको जनताको बहुदलीय जनवादलाई पनि समय-सान्दर्भिक विचारका रूपमा उल्लेख गरे।
बिपी कोइरालालाई स्मरण गर्दै ओलीले उनलाई बहुआयामिक प्रतिभाका धनी राजनीतिज्ञ र साहित्यकारको रूपमा वर्णन गरे। उनले बिपीले नेपाली समाजको राजनीतिक परिवर्तनका लागि गरेको संघर्ष र योगदानको प्रशंसा गरे।
ओलीले पुष्पलाल र बिपी दुवैको निर्वासन, जेल जीवन र संघर्षले नेपाली समाजलाई सदैव प्रेरणा दिने उल्लेख गरे। त्यही प्रेरणाले कम्युनिस्ट आन्दोलन फेरि उठ्ने विश्वास ओलीले व्यक्त गरे।
'अहिले आन्दोलनले अलिकति धक्का खाएको छ, तर पनि यो आन्दोलन फेरि अगाडि बढ्न, उठ्नका लागि उहाँहरू जस्ता अग्रजका दीर्घकालीन सोच, दूरदृष्टि, दृढता जस्ता कुराहरूले आन्दोलनलाई प्रेरणा दिइरहेका छन् र त्यसै प्रेरणाबाट र अन्य शहीदहरूको बलिदानबाट, थुप्रैको त्याग, दुःख, कष्टबाट बनेको यो आन्दोलन फेरि उठ्ने छ, अगाडि बढ्ने छ,' उनले भनेका छन्।