नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एकताबद्ध रहेको दाबी गर्दै कांग्रेस लगायत अन्य सबै दललाई पनि आन्तरिक एकता बलियो पार्न भनेका छन्।
उपाध्यक्ष, महासचिव सहितका पदाधिकारीले ओलीले नेतृत्व छाड्नुपर्ने भन्दै पार्टी पुनर्गठन अभियान चलाइरहेकै बेला ओलीले बिहीबार सार्वजनिक मञ्चबाट आफ्नो पार्टीमा कुनै समस्या नरहेको दाबी गरेका हुन्।
४८औं पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले राजधानी प्रदेशले बबरमहलमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, 'अहिलेको समयमा सबै पार्टीहरूमा आन्तरिक एकता बलियो हुनु जरूरी छ। एमालेमा कुनै समस्या छैन।'
यति भनेर ओलीले कांग्रेसको विवादको भने धेरै चिन्ता गरे।
'अहिले नेपाली कांग्रेसभित्र बेला न कुबेला विभिन्न कुराहरू उठ्ने गरेका छन्। तर नेपाली कांग्रेसले कांग्रेसकै रूपमा आफ्नो अस्तित्व कायम राखोस्, कांग्रेस एकताबद्ध होस् र लोकतन्त्रका लागि लड्ने सामर्थ्य पुनः प्राप्त गरोस् भन्ने हामी सबैको शुभकामना छ,' उनले भने।
सबै प्रगतिशील, लोकतान्त्रिक र देशभक्त शक्तिहरू मिलेर जनताको हितमा लोकतन्त्र फिर्ता ल्याउन दृढताका साथ एकजुट हुनुपर्ने भन्दै उनले थपे, 'मैले सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाएर जाऔं भनेको होइन। पार्टी आ–आफ्नो भए पनि हुन्छ, तर काममा चाहिँ सहकार्य गरौं, समान उद्देश्यका लागि समान काममा जुटौं। मेरो आग्रह सबैमा यही हो।'
पछिल्लो समय प्रदेशहरूमा गठबन्धन परिवर्तनको कसरत चलिरहेकोबारे पनि ओलीले टिप्पणी गरेका छन्।
'अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योल र अलमलजस्तो देखिएको छ, तर यसको समाधान हामी छिट्टै दिन्छौं,' उनले भने, 'यो अस्पष्टता हटाएर प्रदेश सरकारहरू र स्थानीय सरकारहरू स्पष्ट ढंगले सञ्चालन हुनेछन्।'
सरकारले जनतामाथि प्रहरी लगाएर दमन गरिरहेको भन्दै ओलीले कडा आलोचना गरेका छन्।
'प्रहरीले सडकमा मान्छे देख्न नहुने, हिजोको विरोधमा वा कसैको विरूद्ध बोलेको सडकमा देख्नेबित्तिकै लछारपछार पार्ने, झ्याप्प समाउने र घिसार्दै मुद्दा चलाउने। यो कस्तो जमाना आएको हो?' उनले भने, 'पञ्चायतकालमा पनि यस्तो प्रकटीकरण देखिएको थिएन। मलाई ६० वर्षदेखि नेपालको लोकतन्त्रका लागि लडेर आएको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गर्दा हाम्रा कार्यकर्ताले शान्तिपूर्ण विरोध गर्दा लखेटीलखेटी, महिनौंसम्म निको हुन नोगरी टाउका फुटाएका छन्। पार्टी कार्यालयभित्रै पसेर कार्यकर्ताहरूलाई कुट्ने काम भएको छ। हामी कुन बर्बर, कुन राणाशासनको जमानामा छौं जस्तो लाग्छ सरकारलाई?'
प्रहरीलाई 'अस्ति भर्खर तिनै तत्त्वहरूले लखेटी लखेटी नालीमा पुर्याएको' बताउँदै उनले प्रहरीलाई कुटेर घाइते बनाएको, हतियार खोसेको, कार्यालय जलाएको र युनिफर्म च्यातेको स्मरण गरे।
'आज फेरि तिनैका आदेशमा शान्तिपूर्ण ढंगले हिँड्न पनि नपाइने स्थिति सिर्जना गरिएको छ। अहिले जेनजी भनिने युवाहरूले विरोध गर्दा उनीहरूलाई गिरफ्तार गरिएको छ,' उनले भने, '१६ गते मैले सुनेँ, जेन्जीहरूलाई लगेर थुनियो, अनि एक जना पहिले पनि मन्त्री भएका र हाल फेरि मन्त्री भएका व्यक्ति त्यहाँ गएर धम्काउने, सुन्नै नसकिने खालका शब्दहरू प्रयोग गर्ने काम भयो। कुर्सीबाट उठेर सलामी गर्न लगाउने, अनि भित्र कुनामा भएकाहरूलाई धम्क्याउने अनुमति बाहिरका मान्छेलाई कसले दियो? यो कस्तो अराजकता हो?'
ओलीले अहिलेको सरकार जनविरोधी, गरिबविरोधी र गरिबमारा भएको आरोप पनि लगाए।
'उनीहरूको कामै यही हो, जसमा अनौठो मान्नुपर्ने केही छैन,' उनले भने, 'तर यो कुरा यस्तै चलिरहन दिनु हुँदैन। सरकारले यस प्रकारका असंवैधानिक र गैरकानुनी क्रियाकलाप तत्काल रोक्नुपर्छ, होइन भने जनताले रोक्न लगाउनुपर्नेछ।'