नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नयाँ र पुराना’ को गलत भाष्य फैलाएर लोकतान्त्रिक राजनीतिक दललाई कमजोर बनाउने सुनियोजित प्रयास भइरहेको आरोप लगाएका छन्।
बिहीबार ४८ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले नेपालमा धर्म, जात र भूगोलका नाममा समाज विभाजन गर्न नसकेपछि अहिले नयाँ र पुरानाको बहसमार्फत राजनीतिक दलमाथि प्रहार भइरहेको दाबी गरे।
‘नेपालमा नयाँ र पुराना भन्ने कुरा अत्यन्त गलत भाष्य हो। धर्मका नाममा फुटाउन खोजियो, जातका नाममा फुटाउन खोजियो, भूगोलका नाममा फुटाउन खोजियो, सफल भएन,’ उनले भने ‘अहिले नयाँ र पुरानाका नाममा घरघरमा, बाउ–आमा र छोराछोरीबीच, हजुरबा–हजुरआमा र नातिनातिनीबीच समेत विभाजन छिराउन खोजिएको छ।’
उनले विश्वका स्थापित लोकतन्त्रमा पनि पुराना राजनीतिक दलले नै शासन सञ्चालन गरिरहेको उल्लेख गर्दै नेपालमा मात्रै पुराना दललाई विस्थापित गर्नुपर्ने तर्कको कुनै आधार नभएको बताए।
‘अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकन पार्टी नयाँ हुन् कि पुराना ? बेलायतमा कन्जर्भेटिभ र लेबर पार्टी छन्। त्यहाँ नयाँ पार्टीको माग उठेको छैन,’ उनले भने, ‘पार्टी पुरानो वा नयाँ हुँदैन, समयअनुसार आफूलाई अद्यावधिक गर्नुपर्छ।’
उनले मानव सभ्यतासँगै राजनीतिक प्रणाली र त्यससँगै राजनीतिक दलको विकास भएको उल्लेख गर्दै लोकतान्त्रिक समाजमा दलविहीन व्यवस्थाको कल्पना गर्न नसकिने बताए।
‘अबको समयमा दलविहीनताको परिकल्पना गर्न सकिँदैन। संसारभर दलहरू नै प्रतिस्पर्धा गर्छन् र दलहरूले नै शासन गर्छन्,’ उनले भने।
पछिल्ला वर्षहरूमा ‘दलहरूले खाए, नेताहरूले खाए’ भन्ने भाष्य निर्माण गरेर लोकतान्त्रिक संस्थामाथि नै अविश्वास फैलाउने प्रयास भएको ओलीको आरोप थियो।
‘केही मानिसहरूले दलहरूले खाए, नेताहरूले खाए भन्ने गलत भाष्य खडा गर्न खोजे। विचारका मतभेद हुन सक्छन्, नेतृत्वबीच विवाद हुन सक्छ, तर लोकतन्त्र ल्याउने र यसको रक्षा गर्ने काम राजनीतिक दलहरूले नै गरेका हुन्,’ उनले भने।
‘लोकतन्त्र फिर्ता ल्याउने काम कसले गर्ने राजनीतिक दलहरूले नै गर्ने हुन्। यिनैले संविधान बचाउनुपर्छ, आवश्यक परे संशोधन पनि यिनैले गर्नुपर्छ,’ उनले भने ‘लोकतन्त्र अपहरण गर्ने शक्तिहरूका विरुद्ध लोकतन्त्रको वापसी चाहने सबै शक्ति एकजुट हुनुपर्छ,’ उनले भने।