नेपाली कांग्रेसका हरेक सदस्य र समितिहरूले अब प्रतिज्ञा गर्नुपर्ने भएको छ।
एक वर्षभर पार्टी सदस्यले के-के सामाजिक काम गर्ने भन्नेबारे खुलाएर प्रतिज्ञा गर्नुपर्ने गरी कांग्रेसले नयाँ अभियान सञ्चालन गर्न लागेको हो।
सभापति गगन थापाले भदौ २४ गते हरेक सदस्यले आफूले वर्षभर के काम गर्ने हो त्यो प्रतिज्ञा गर्नुपर्ने बताएका छन्।
कांग्रेसले नागरिकका समस्यालाई आफ्ना एजेन्डामा समेट्ने गरी समाजसँग जोडिन यस्तो अभियान सञ्चालन गर्न लागेको छ।
‘समाजसँग जोडिएको कांग्रेसलाई नागरिकहरूले आफै माया गरेर समाजलाई माया गर्नेले सत्ता चलाउनुपर्छ भन्ने बनाइदिन्छन्, हामीले चुनावको चिन्ता गर्नै पर्दैन,’ राष्ट्रिय सभा गृहमा ४४ औं बिपी स्मृति दिवस तथा जरा अभियान समापन र नयाँ संकल्प घोषणा कार्यक्रममा आज बोल्दै सभापति थापाले भने, ‘त्यसैले पहिले जहाँ गल्ती भएको छ त्यहाँ जाऔं, समाजसँग पुन: कसरी जोडिने भन्ने चिन्तन गरौं।’
चुनावका कुरा निकालेर कतिपयले तर्साउन खोजेको पनि उनले बताए।
‘मलाई कतिपय साथीहरूले बेलाबेला तर्साउन खोज्नुहुन्छ, कहिलेकाहीँ नेताहरूले पनि तर्साउन खोज्नुहुन्छ, हेरौंला स्थानीय र प्रदेश चुनाव भन्नुहुन्छ, हामी बिपी कोइरालाका कार्यकर्ताहरू हौं, एउटा चुनावबाट मात्तिहाल्ने र आत्तिहाल्ने होइन। चुनाव नजितिएला भनेर हामी आस्थासँग सम्झौता गर्दै समाज र सिद्धान्तले नमान्ने गठबन्धनको राजनीति बोक्ने कांग्रेस होइन यो,’ सभापति थापाले भने, ‘चुनावको सामना गर्छौं तर हाम्रा लागि प्राथमिक कुरा नागरिकको विश्वास र भरोसा हो।’
नागरिकको भरोसा स्थापित गर्न काम गर्ने उनले बताए।
‘नागरिकको भरोसालाई स्थापित गर्न यो कांग्रेस सत्तासँग होइन, समाजसँग जोडिएको कांग्रेस हामीले बनाउनुपर्नेछ, समाजसँग जोडिएको कांग्रेसलाई नागरिकले आफै सत्तामा पुर्याउँछन्,’ उनले भने।
उनले समाजसँग जोडिने कार्यका लागि पार्टीले हरेक सदस्य र समितिहरूका लागि केही कलस्टरहरू बनाएको पनि उल्लेख गरे।
उदाहरण दिँदै भने, ‘कोही कांग्रेसको साथी यो एक वर्ष रक्तदान अभियान, वृक्षरोपण, सार्वजनिक पूर्वाधार निर्माण, स्वास्थ्यलगायत कामसँग जोडिन चाहन्छु भन्नुहुन्छ भने ठिक छ, यो समाजिक सेवासम्बन्धी कलस्टर भयो। अर्को भनेको व्यक्तिक सहयोग। मैले सर्लाही ४ का ४ जना बालबालिकालाई ललितपुरको एक विद्यालयमा कक्षा ४ देखि १० सम्म पढ्न पाउने गरी व्यवस्था गरेको छु, नेपालमा काम गरेको एक वैदेशिक संस्थाको सहयोगमा।’
युवा अभियान, छुवाछुत तथा महिला हिंसाविरूद्ध अभियान र नागरिक सहजीकरण, सुशासनका क्षेत्रमा नीति निर्माणमा काम गर्न चाहने हो भने पनि प्रतिज्ञा गर्न पाइने उनको भनाइ छ।
‘ज्येष्ठ नागरिक, कला, साहित्य जुनसुकै क्षेत्रमा पनि प्रतिज्ञा गर्न पाइन्छ, तर भदौ २४ गते प्रतिज्ञा गर्नुपर्छ,’ उनले भने, ‘कसले के प्रतिज्ञा गरेको छ पार्टीको अभिलेखमा रहन्छ। क्षेत्रहरू थप गर्न सकिन्छ। भदौ २४ गते प्रत्येक कांग्रेस कार्यकर्ताले एक वर्षका निम्ति आफूले गर्ने एउटा अभियानको प्रतिज्ञा गर्नुपर्छ, यो स्वेच्छिक हो,’ उनले भने, ‘पार्टी समितिले एकै काम गर्छौं पनि भन्न पाइन्छ।’
उनले सिंगो राजनीति गर्नेहरूप्रति अविश्वास बढ्दो रहेको पनि बताए।
‘नयाँ आएका साथीभाइलाई पुरानोप्रति अविश्वास हो भन्ने लागेको छ, हामी आयौं धमाधम समस्या समाधान हुन्छ भन्नुभएको छ, केही समयमा थाहा पाउनुहुन्छ,’ उनले भने, ‘किनकि यो कुनै सरकारसँग जोडिएको विषय होइन, सिंगो समाज एक ठाउँमा आएर काम गर्नुपर्नेछ। हामी लाखौं कांग्रेस कार्यकर्ताले एक एक काम गर्दा यो वर्ष कति नयाँ र सकारात्मक काम हुन्छ, हेरौं।’
उनले नागरिक भरोसा जगाउने अभियान सञ्चालन गर्न लागिएको बताए। ‘यो नागरिक भरोसा जगाउने अभियान हो। सकारात्मकतालाई जागृत गराउने अभियान पनि हो यो,’ उनले भने, ‘कतिले सोध्नुहोला पार्टीलाई यसबाट के फाइदा छ र चुनावसँग कसरी जोडिन्छ, चुनावको धेरै चिन्ता नगरौं, बिपी कोइरालाका कार्यकर्ता भन्छौं, प्रधानमन्त्री भएको मानिस ८ वर्ष जेल बस्नुभएको थियो।’
उनले कार्यकर्ताहरूलाई रिलबाट रियल लाइफमा आउन पनि आग्रह गरेका छन्। ‘साथीहरू एक पटक रिलबाट निस्केर रियल लाइफमा जाऔं,’ उनले भने।