नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ।
सर्वोच्चले विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक भनेर गरेको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले निवेदन दिएका हुन्।
बिहीबार देउवाको वारेसमार्फत निवेदन दर्ता भएको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
दुई जना न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए। उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका थिए।
अब तीन जना न्यायाधीशहरूले बसेर यो मुद्दामा पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनुपर्ने हुन्छ। उक्त निर्णयबाट पुनरावलोकन गर्न अनुमति पाएपछि फेरि मुद्दाको प्रक्रिया अघि बढ्नेछ।
यो पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा न्यायाधीशहरू महिनाको दुई पटक मात्रै बसेर निर्णय गर्ने गरेका छन्। यसको निर्णय कहिले हुने भन्ने टुंगो लागिनसकेको प्रवक्ता कोइरालाले बताए।