सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूका लागि आन्तरिक निर्देशन जारी गर्दै परिवार र आफन्तहरूलाई स्वकीय सचिव नराख्न भनेको छ।
रास्वपाले स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड भन्दै पठाएको निर्देशनमा नातावाद र परिवारवादको पूर्ण निषेध भनिएको छ।
‘नातावाद र परिवारवादको पूर्ण निषेध- स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ,’ रास्वपा महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार जारी गरेको निर्देशनमा उल्लेख छ, ‘यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ।’
सरकारले हालै सांसदहरूका लागि स्वकीय सचिव सुविधा दिने निर्णय गरी राजपत्रमा प्रकाशनसमेत गरिसकेको छ।
संघीय संसद्का सदस्यहरूको पदीय जिम्मेवारी (कानून निर्माण, नीतिगत बहस तथा जनगुनासो सम्बोधन) लाई प्रभावकारी बनाउन संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची-२ मा हालै मन्त्रीपरिषद्ले गरेको हेरफेर पश्चात् सांसदहरूले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था छ।
राज्यकोषबाट प्राप्त हुने यस सुविधाको उच्चतम सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी, र जनउत्तरदायी बनाउन रास्वपाले आफ्ना संघीय सांसदहरूका लागि आन्तरिक निर्देशन जारी गरेको हो।