राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिलो समय एउटा चर्चा छ- केपी शर्मा ओलीले हाम्रो पार्टीभित्र खेले।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली एमाले अध्यक्ष हुन्। उनले नेकपा संयोजकसँग हालै प्रदेशहरूमा नयाँ सरकार बनाउने सहमति गरेका थिए।
एमाले र नेकपाबीच समीकरण हुँदा पनि बागमती र गण्डकीमा सरकार बन्दैन। त्यसैले उनीहरूले राप्रपाको साथ खोजिरहेका छन्।
एमाले अध्यक्ष ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग यसबारे कुराकानी गर्नेभन्दा पनि राप्रपाका सांसदहरूलाई निवासमा निम्त्याएर कुराकानी गर्न थालेको जानकारीपछि राप्रपाभित्र एमालेले खेलिरहेको चर्चा भएको हो।
अध्यक्ष ओलीले भक्तपुर गुण्डुस्थित निवासमा राति-राति पटक-पटक राप्रपाका केही सांसदहरूसँग छलफल गरेको सूचना राप्रपा नेतृत्वलाई छ। तर राप्रपाका सांसदहरूले यसबारे आफ्नो पार्टीमा जानकारी नगराएको पाइएको छ।
मुख्य गरी बागमती प्रदेश सरकार बनाउन एमाले र नेकपालाई २ सांसदको साथ चाहिएको छ र राप्रपामा १२ जना सांसद छन्।
राप्रपा नेतृत्व अहिले प्रदेश सरकारमा सामेल हुने पक्षमा छैन। त्यो कुरा बुझेका एमाले अध्यक्ष ओलीले लिङ्देनसँग नभई बागमतीका केही सांसदहरूसँग कुराकानीलाई तीव्रता दिएका हुन्, जुन कदमलाई राप्रपाले आफ्नो पार्टीभित्र ओलीले खेलेको रूपमा बुझेको छ।
एमाले र नेकपाबीच भागबन्डामा बागमती सरकारको नेतृत्व एमालेले गर्ने उल्लेख छ।
एमाले सांसदहरूका अनुसार अध्यक्ष ओलीले भक्तपुरका सांसद किरण थापालाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी गरेका छन्।
एमाले बागमती संसदीय दल नेता जगन्नाथ थपलिया छन् र उनी पनि मुख्यमन्त्रीका दाबेदार छन्। अध्यक्ष ओलीले थपलियालाई संसदीय दल नेताबाट हटाएर थापालाई दल नेता बनाउँदै मुख्यमन्त्रीसम्म बनाउने गरी तयारी गरिरहेको एमालेका केही सांसदहरू दाबी गर्छन्।
एमालेभित्रै को मुख्यमन्त्री बन्ने यकिन नभएको अवस्थामा बहुमत पुर्याउन ओलीले राप्रपाभित्र खेलेको आरोप छ।
‘सचिव महेश बस्नेतको कुरा सुनेर अध्यक्ष केपी ओली भक्तपुरका किरण थापालाई बागमतीको मुख्यमन्त्रीमा अघि सार्न खोज्दैछन्, एमाले र नेकपाले मात्र बहुमत पुग्दैन, उनीहरूलाई थप २ सांसद चाहिन्छ,’ राप्रपाका एक नेताले सेतोपाटीसँग भने, ‘बहुमत पुर्याउन ओलीले कहिले २ जना, कहिले ४ जना हाम्रा सांसदलाई गुण्डु बोलाएर राति राति छलफल गर्ने रहेछन्, मन्त्री बनाउँछु भन्दा रहेछन्, त्यो सूचना हामीलाई छ।’
प्रदेश सरकारमा राप्रपाको साथ आवश्यक पर्ने हो भने ओलीले लिङ्देनसँग कुरा गर्नु सुल्टो बाटो हुनेमा केही सांसदहरूलाई निवासमा बोलाउँदै मन्त्रीको आश्वासन दिइरहेको ती नेता बताउँछन्।
‘प्रदेश सरकार गठनका विषयमा एक पटक ओलीले अध्यक्ष लिङ्देनसँग फोनमा कुरा गर्नुभएको थियो, त्यसपछि केही कुरा अघि बढेन, राप्रपा प्रदेश सरकारमा सामेल हुन पनि चाहँदैन,’ राप्रपाका ती नेता भन्छन्, ‘राप्रपा नेतृत्वको साथ नपाउने देखेर हो कि कसको बुद्धिमा लागेर हो, राप्रपाका सांसद बोलाउँदै निवासमा भेट्दै गरेको हामीलाई सूचना छ, किन हाम्रो पार्टीमा खेल्नुपर्यो?’
ओलीले बागमती राप्रपाभित्र खेलेको चर्चाबीच बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले अहिले प्रदेश सरकारहरूमा सामेल नहुने निर्णय गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार कांग्रेस-एमाले र नेकपा मिलेर प्रदेश सरकार बनाऊन् भन्ने राप्रपा चाहन्छ।
‘कहीँ फरक अवस्था केही आयो भने उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसम्पादन समितिले अध्यक्षलाई दिने निर्णय गरेको छ,’ उनले भने।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा अहिले प्रदेश सरकारहरूमा सामेल हुँदैन।
‘हामी प्रदेश सरकारमा सामेल हुँदैनौं, यो कुरा केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय भएर सबै प्रदेश संसदीय दल नेताहरूलाई पत्राचार गरी जानकारीसमेत गराइसकिएको छ,’ उनले भने।
राप्रपा बागमतीमा केही सांसदहरू प्रदेश सरकारमा जान इच्छुक देखिन्छन्। तर पार्टीले मूल नेतृत्वसँग छलफल र निर्णयबेगर प्रदेश सरकारमा सामेल नहुन आग्रह गरेको छ।
यसअघि मधेस सरकारमा पार्टीलाई जानकारी नै नदिई राप्रपाकी सांसद कञ्चन बिच्छा मन्त्री बनेकी थिइन्। उनलाई राप्रपाले कारबाही गरेको थियो भने उनको सांसद पदसमेत खारेज गरिदिएको थियो। उनी समानुपातिक सांसद थिइन्।
राप्रपाले यस्ता नजिर देखाउँदै प्रदेश सरकारहरूमा प्रतिपक्षमै रहन सांसदहरूलाई भनेको छ।
राप्रपा सरकारमा जान नमानेको अवस्थामा बागमतीमा नयाँ सरकार गठनमा एमाले र नेकपालाई सकस परेको छ।
हालै गुण्डुमा भएको एमाले सांसदहरूबीचको छलफलमा अध्यक्ष ओलीले 'जसले राप्रपाको समर्थन ल्याउन सक्छ उही मुख्यमन्त्री बन्छ' भनेका थिए। यसो भन्दा किरण थापाले आफूलाई राप्रपाका केही सांसदहरूको समर्थन रहने कुरा बताएका थिए।
बागमतीमा अहिले नेपाली कांग्रेस संसदीय दल नेता ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री छन्।
एमालेभित्रै संसदीय दल नेता फेर्ने किचलो र सरकार गठनका लागि बहुमत नपुगेको अवस्थाले गर्दा त्कालै बागमतीमा नयाँ सरकार गठन गर्न गाह्रो छ। एमालेका केही सांसदहरूका अनुसार राप्रपाका केही सांसदले बागमतीमा एमाले नेतृत्वमा सरकार बनेका खण्डमा सहयोग गर्न तयार रहेको वचन दिएका छन्, त्यसकारण अध्यक्ष ओलीसँग भेटवार्ता भएको हो।
गत साउन ६ गते एमालेले बानियाँ सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्रीले भदौ ६ भित्रै विश्वासको मत लिनुपर्छ।
बागमती प्रदेशसभामा हाल १०४ सदस्यीय छ। बहुमतका लागि ५३ सांसद चाहिन्छ।
कांग्रेस ३६ सिटसहित पहिलो दल छ भने नेकपा २६ सिटसहित दोस्रो र एमाले २५ सांसदसहित तेस्रो छ। राप्रपासँग १२, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट छ। हानेपा हालै बानियाँ नेतृत्वको सरकारमा सामेल भएको छ।
यो पनि- एमाले कचिंगलको मारमा प्रदेश सरकारहरू– कहीँ मुख्यमन्त्री छान्न सकस, कहीँ मन्त्री!