नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान चलाउने निर्णय गरेको छ।
शुक्रबार पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले जागरण अभियान चलाउने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
कात्तिक ७ गते पत्रकार सम्मेलन गरी अभियानको उद्घाटन गरिने उनले बताए।
अभियान मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ।
अभियानले महाधिवेशनको तयारी समेत गर्नेछ।
‘संगठित सदस्यता नवीकरण, संगठन सुदृढीकरण, भेला बैठक गर्छौं। महाधिवेशनको तयारी सँगै स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि यही जागरण अभियान अन्तर्गत गर्छौं,’उनले भने।
यही अभियानबाट सरकारले गरेको जनविरोधी कामको विरोधमा आन्दोलनको तयारी पनि गर्ने उनले बताए।
‘सरकारले गरेको जनविरोधी र अराजकताको विरोधमा आन्दोलनको तयारी पनि यही अभियान अन्तर्गत गर्छौं, यही अभियान अन्तर्गत नै संघर्षको तयारी समेत गर्छौं,’ प्रवक्ता ज्वालाले भने।