नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय र प्रदेश सभा चुनाव एकैपटक गर्ने कि संविधान व्यवस्थाअनुसार फरक-फरक समयमा भन्ने कुरा पहिले सरकार प्रष्ट हुनुपर्ने बताएका छन्।
चुनावी खर्चलगायत विषय उठान गर्दै स्थानीय र प्रदेश सभा चुनाव एकै पटक गर्नुपर्ने चर्चा भइरहेको छ। आज निर्वाचन आयोगले यस विषयमा दलका शीर्ष नेताहरूसँग छलफल गरेको थियो।
उक्त छलफलमा सभापति थापाले स्थानीय र प्रदेश चुनाव एकैपटक गर्ने कि फरक फरक समयमा भन्ने विषयमा सरकार पहिले प्रष्ट हुनुपर्ने र त्यसपछि मात्र दलहरूले धारणा बनाउने बताएका हुन्।
‘स्थानीय र प्रदेश चुनाव कहिले भन्ने संविधानअनुसार हुने कुरा छँदैछ, यसमा निर्वाचन आयोगले केही भन्ने कुरा भएन। सरकार केही पनि बोल्दैन, केही पनि भन्दैन। पत्रपत्रिकामा आएको भरमा हामी दलको धारणा बनाउँदै किन हिँड्ने?,’ थापाले भने, ‘बल्ल आज निर्वाचन आयोगले प्रारम्भिक छलफल गरेको छ। अब हामी दलभित्र छलफल गर्छौं। यसबीचमा नेपाल सरकारले केही धारणा छन् वा प्रस्ताव छ भने छलफल गर्छ भने हामी पार्टीको आफ्नो मत राखौंला, होइन भने संविधान र कानुनअनुसार चुनाव मिति तोकिएला।’
उनले चुनाव एकैपटक गर्ने कि फरक फरक समयमा भन्नेमा सरकार पहिले प्रष्ट हुनुपर्ने बताए।
‘एकैपटक निर्वाचन गर्ने भन्ने कुरा बाहिर आइरहेको छ, यस्तो हो भने सबैभन्दा पहिला नेपाल सरकारले भन्नुपर्छ। खर्चलगायत कारण एकैपटक गर्ने भनेर सरकारले भन्ला,’ उनले भने, ‘दलभित्र र दलहरूका बीचमा पनि छलफल होला।’
विदेशबाट गर्ने मतदानका विषयमा कानुन आवश्यक रहने भएकोले पहिले कानुन बनाउनुपर्नेमा सभापति थापाले जोड दिए।