नेपाली कांग्रेसका सभापति गगन थापाले अपुग कागजात सबै पुर्याएकोले अब छिट्टै निर्वाचन आयोगले पार्टी अद्यावधिक गर्ने बताएका छन्।
असोज १८ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गरेर कांग्रेसले पदाधिकारी र केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो।
आयोगले अद्यावधिकमा समय लगाएको भन्दै चर्चा भइरहेको छ।
यसबारे आज आयोज परिसरमा पत्रकारहरूले सभापति थापालाई प्रश्न सोधेका थिए।
जबाफमा सभापति थापाले अपुग कागजात सबै आयोगलाई दिइएकोले आजभोलिमा अद्यावधिक टुंगिने प्रतिक्रिया दिए।
‘कांग्रेसले अधिवेशन सम्पन्न गरेर नयाँ आएको नेतृत्वबारे आयोगमा जानकारी गराउने विषयलाई हामीले अद्यावधिक भन्ने गरेको हो। यो दलको आधिकारिकतासँग जोडिएको विषय होइन,’ उनले भने, ‘हामीले अद्यावधिक गर्ने भनेर बुझायौं, आयोगले कागजात अपुग भनेर पत्राचार गर्यो, महिला ३३ प्रतिशत पुग्नुपर्छ भन्नेजस्ता थप कागजात मागियो, हामीले सबै कागजात पुर्यायौं। अद्यावधिक आजभोलि टुंगिन्छ, यो सामान्य कुरा हो।’
उनले दल अद्यावधिक गर्न विगतमा पनि समय लाग्ने गरेको बताए।