भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले 'करूणा नै सबभन्दा ठूलो शक्ति भएको' बताएका छन्।
उनी सोमबार बिहान दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पण गर्न पुगेका थिए। गान्धीको समाधिस्थलमा माल्यार्पण गर्दै उनले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको दृढ प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गान्धीको समाधिस्थलमा राखिएको आगन्तुक पुस्तिकामा प्रधानमन्त्री शाहले एउटा नोट लेखेका छन्। गान्धीको विरासतमा आफूले करूणा नै सबभन्दा ठूलो शक्ति भएको देख्ने गरेको उल्लेख गरेका छन्।
'यस पवित्र स्थलमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछु। उहाँको जीवनले सत्यमा कुनै पनि शक्तिले उछिन्न नसक्ने सामर्थ्य हुन्छ भन्ने कुरा संसारलाई प्रमाणित गरेको थियो। नेपालका जनता र सरकारका तर्फबाट म उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु। भगवान् बुद्धको जन्मभूमिबाट आएको मैले गान्धीजीको विरासतमा त्यही अमर प्रकाश पाउँछु— करूणा नै सबभन्दा ठूलो शक्ति हो र साँचो नेतृत्व भनेको हामीमध्येका सबभन्दा साधारण र निम्न हैसियतका मानिसहरूको निःस्वार्थ सेवामा निहित हुन्छ भन्ने गहिरो सत्य,' उनले लेखेका छन्।

प्रधानमन्त्री शाहले नेपाल र भारत साझा भूगोलले मात्रै नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको विरासतले पनि जोडिएको उल्लेख गरेका छन्।
'नेपाल र भारत केवल साझा भूगोलले मात्र जोडिएका छैनन्, यी दुई देश आस्था, आत्मीयता र चिरस्थायी मित्रताको शाश्वत विरासतले पनि बाँधिएका छन्। गान्धीजीको कालजयी आदर्शको सम्मान गर्दै म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटुट विश्वासका साथ यस सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको दृढ प्रतिबद्धता पुनः व्यक्त गर्दछु,' उनले लेखेका छन्।
उनले गान्धीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्वतर्फको साझा यात्रालाई निरन्तर उज्यालो दिइरहून् भन्ने कामनासमेत गरेका छन्।
