भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ।
सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता भएको हो। अब दुवै पक्षले संयुक्त पत्रकार सम्मेलन गर्दै छन्।
वार्ता सुरू हुनुअघि भारतीय प्रधानमन्त्री मोदीले हैदराबाद हाउस परिसरमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। त्यस क्रममा मोदीले शाहलाई अंकमाल गरेका थिए।
द्विपक्षीय वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायत सहभागी थिए।
भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय पीके मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावर लगायत सहभागी थिए।
वार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, ऊर्जा तथा कनेक्टिभिटी लगायत विषयमा छलफल गर्ने कार्यक्रम थियो। छलफलका निर्णय तथा उपलब्धिबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
द्विपक्षीय वार्तापछि प्रधानमन्त्री शाह र मोदीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेल सेवा तथा भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्मको मोटरेबल पुल लगायत परियोजनाको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ।
त्यस क्रममा दुई देशबीच विभिन्न समझदारीपत्र तथा सम्झौतापत्र आदानप्रदान हुने र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री मोदीले आजै शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। त्यसपछि शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
दुईदिने औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाह आजै स्वदेश फर्कनेछन्। उनी अपराह्न ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने र साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
