रौतहटको गढीमाई नगरपालिकामा जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।
गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताए।
गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको हो। विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगन्ज पठाइएको र उनको बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए।
गोली कसले चलायो भन्ने खुल्न सकेको छैन। गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ।
गोली लागेर स्थानीयवासी रामप्रताप यादव, कपिलदेव राय यादव र नीरञ्जन यादव घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएको छ।
घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको एसपी बुढामगरले जानकारी दिए।