असोज २५ गते बुढीगण्डकीको सहायक नदी स्यारखोलामा आएको बाढीले भत्काएको बाटो मर्मत गरिएको छ।
गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत दुई वडा- चुम्चेत र छेकम्पार आउजाउ गर्ने बाटो मर्मत गरिएको हो।
साथै बाढीले सर्दीभिरस्थित क्यान्टिलिभर पुलमा क्षति पुर्याएकोले त्यहाँ अस्थायी रूपमा काठका पुल राखिएका छन्।
पुल राखेपछि मानिस र खच्चडलाई खोला वारपार गर्न सहज भएको छ। दुई सातादेखि बन्द रहेको बाटो खुलाइएको हो।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार चुम उपत्यका पदमार्ग आजदेखि पुन: सुरू भएको छ।
‘चुमनुब्री गाउँपालिका ६ र ७ चुमभ्याली जाने मूल बाटो पुन: सञ्चालनमा आएको छ,’ उनले भने, ‘हामीले आपतकालीन रूपमा ४ वटा काठे पुल बनाएका छौं र बाटोहरू पनि मर्मत गरिएको छ। अब सहज रूपमा पर्यटक पनि चुमभ्याली जान सक्छन्।’
यहाँ बाटो र पुल बनाउन स्थानीय बासिन्दा दिनरात खटिएका थिए। स्वदेश तथा विदेशमा रहेका यहाँका स्थानीयहरूले पुल र बाटो मर्मत गर्ने टोलीलाई खाजा खर्चसमेत जुटाएका थिए।