बाँकेको जंगल क्षेत्रमा रहेको ऐलानी जग्गामा बसोबास मिलाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
दुर्गम पहाडी जिल्लाबाट थुप्रैको संख्यामा बाँकेको बैजनाथ गाउँपालिकाको पितमारी नजिकैको जंगलमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने भन्दै उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ।
प्रतिव्यक्ति पाँच सयदेखि एक हजार रूपैयाँसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार गिरोहले झन्डै एक हजार पाँच सय जनालाई सुकुम्बासीका नाममा जंगलमा लगेर बस्ती बसाउँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका–११ का ४४ वर्षीय नरबहादुर कामी, सोही जिल्लाको कुशे गाउँपालिका–४ का ३८ वर्षीय मोहनजंग शाह र डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका–७ कि ६० वर्षीया सुनरूपा ठकुल्ला रहेको प्रहरीले जनाएको छ।
अदालतले शनिबार उनीहरूको सात दिनको म्याद थप गरेको छ।
जंगल अतिक्रमण गरेर बस्ती बसाउन लागेको सूचना थाहा पाएसँगै प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी तिवारीले बताए।
'केही दिनअघिदेखि नै कोहलपुर क्षेत्रमा शंकास्पद मानिसको चहलपहल बढेको कुरालाई हामीले विचार गरिरहेका थियौं। सूचनाका आधारमा ती व्यक्तिलाई सुकुम्बासी बनाएर जंगल अतिक्रमण गर्ने योजना रहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिएका हौं,' डिएसपी तिवारीले भने।
जाजरकोट, सल्यान, रूकुम, मुगु, डोल्पा लगायतका पहाडी जिल्लाका मानिसलाई झन्डै एक महिनाअघिदेखि नै कोहलपुरमा रहेका आफन्तको घरमा बसालेर जंगल अतिक्रमण गर्न भनी ल्याइएकामध्ये धेरैजसो महिला, बालबालिका र ज्येष्ठ नागरिक रहेको डिएसपी तिवारीको भनाइ छ।
उनका अनुसार बस्ती बस्न भनेर आएकामध्ये तीन सयभन्दा बढीलाई इलाकाले नै गाडीको व्यवस्था गरेर फर्काएको छ। बाँकी आफन्तकहाँ लुकेर बसेको र उनीहरूको पनि खोजी जारी छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले ऐलानी जग्गा पाइन्छ भनेर झुटा आश्वासन दिँदै जनतालाई दुःख दिने र उनीहरूबाट पैसा असुल्ने गिरोहलाई खोजेर काबारही गरिने बताए।