सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई मंगलबार तीन महिना कैद सजायको फैसला भएको छ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मू-कश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीलाई कैद सजायको फैसला भएको हो।
बाल विवाह गराउन सहयोग गर्ने भारत जम्मू-कश्मिर राज्य रैनवारीका ४० वर्षीय मोहम्मद रफिकखार र उनकी पत्नी २७ वर्षीया नुर जहानलाई साढे एक महिना कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ।
अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिलानीलाई दुई हजार रूपैयाँ तथा रफिकखार र जहानलाई जनही एक हजार रूपैयाँ जरिवाना भएको छ।
तीनै आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा जनही दुई सय रूपैयाँ भराउने फैसलासमेत भएको सूचना अधिकारी पोखरेलले बताए।
अभियुक्तले तिर्नुपर्ने जरिवाना वापतको रकम भने कैद बसेको अवधिबाट भुक्तान भएको अदालतले जनाएको छ।
बालिकाका बुवा र आमाले अभियोग दाबीबाट सफाइ पाएका छन्। बाल विवाह गरेर भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वनैनियाको टोलीले बालिका र तीन जना आरोपित भारतीय नागरिकलाई पक्राउ गरेर गत माघ १४ गते नेपाल प्रहरीको जिम्मा लगाएको थियो।
राजीखुसीले विवाह गरेकाले बालिकाका अभिभावकले उजुरी दिन अस्वीकार गरेपछि सशस्त्र प्रहरीकै प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको हो।
सशस्त्र प्रहरी निरीक्षक तुलसीराम कार्कीको प्रतिवेदनअनुसार जिलानीसहित उनलाई नेपाल ल्याएर विवाह गराउने रफिकखार र उनकी पत्नी नुर जहान तथा बालिकाका आमाबुवाविरूद्ध उजुरी दर्ता भएको थियो।
पक्राउ परेका आरोपितहरू गत फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए।
अदालतमा फागुन १७ गते हाजिर भएका बालिकाका आमा साधारण तारेखमा र बुवा पाँच हजार रूपैयाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए। बालिकाका बुवाआमाले भने अभियोग दाबीबाट सफाइ पाएका छन्।