संखुवासभाको मादी नगरपालिका–९ फविङस्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
घटनामा अर्की बालिका घाइते भएकी छन्।
संखुवासभा प्रहरीले दिएको जानकारी अनुसार पाँचखपन नगरपालिका–९ का लोकमान लिम्बुकी १३ वर्षीया छोरी समीक्षा लिम्बुको डुबेर मृत्यु भएको हो।
सोही क्रममा चैनपुर नगरपालिका–२ का कालीबहादुर राईकी १३ वर्षीया छोरी दीक्षा राई गम्भीर घाइते भएकी छन्।
बिहीबार दिउँसो पौडी खेल्ने क्रममा दुवै बालिकालाई खोलाले बगाएको थियो।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा समीक्षालाई मृत अवस्थामा फेला पारेको थियो। दीक्षालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
दीक्षाको विराटनगरस्थित विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा उपचार भइरहेको छ।