झापाको दमकमा बुधबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा दमक ४ का ३६ वर्षीय मिलन थापाको मृत्यु भएको हो।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दमक नगरपालिका –७ पशुहाट डाँडास्थित पूर्व पश्चिम लोकमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।
मे १ ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।त्यसक्रममा मोटरसाइकल चालक थापा गम्भीर घाइते भएका थिए।
थापाको विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बस चालक झापा गौरादह नगरपालिका–४ का ३२ वर्षीय सरकार टुडुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।