सप्तकोशीमा बिहीबार बेपत्ता बनेका सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी गोताखोर प्रशिक्षक भएको खुलेको छ।
सशस्त्र प्रहरीका सुरज साउद र हरदेव राजवंशी गोताखोरका प्रशिक्षक रहेको प्रहरी स्रोतले जनाएको छ।
साउद डोटी र राजवंशी झापाका हुन्। बिहीबार बिहानदेखि उनीहरू त्यहाँ तालिम गराइरहेका थिए।
सप्तकोशी नदीको कोशी ब्यारेजमा खोज तथा उद्धार अभ्यासका क्रममा बेपत्ता बनेका उनीहरूको खोजी कार्य जारी छ। उनीहरू कोशी ब्यारेजको उत्तरतर्फ प्रशिक्षार्थीहरूलाई अभ्यास गराइरहेका थिए।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार पछिल्लो केही दिनयता कोशीमा पानीको बहाव बढेको थियो।
कोशी ब्यारेजमा तल्लो भागमा ब्यारेजका ढोका खोलिएको थियो। उनीहरू माथिल्लो क्षेत्रमा अभ्यासमा रहेको बेला अक्सिजनसहित बेपत्ता भएका हुन्।
दक्षिणतर्फ ब्यारेजका ढोका खुलेका कारण नदीमुनि पानीको तीव्र बहाव रहेकोले उनीहरू पानीको सतहमुनि परेको भूमरीमा फसेर बेपत्ता भएको हुनसक्ने अनुमान प्रहरीको छ।
प्रशिक्षक नै बेपत्ता भएपछि तालिममा सहभागी प्रशिक्षार्थीहरूले तत्कालै खोज्ने प्रयास गरेका थिए। उनीहरूलाई समेत केहीबेर बगाएको थियो।
तालिमको समापन शनिबार हुने तयारी थियो। बेपत्ता गोताखोरको खोजीमा सप्तरी र सुनसरीबाट थप उद्धार टोली परिचालन भएको छ।
सशस्त्र प्रहरीको मधेस प्रदेशको विपद्जन्य उद्धार टोलीको आयोजनामा उक्त तालिम गरिएको थियो।