गुल्मीको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शुक्रबार राति १० बजेतिर दाङबाट बुटवलतर्फ आउँदै गरेको बिएए ०९१६ नम्बरको गाडीले बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ९० प ३१९८ मोटरसाइकललाई बुटवल १२ तामनगरमा ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलमा सवार मुसिकोट नगरपालिका १ गुल्मी घर भइ हाल रुपन्देहीको सुद्धोधनमा बस्दै आएका रञ्जित खत्री गम्भीर घाइते भएका छन्।
घाइते भएका खत्रीलाई प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल पुर्याएको थियो। उनको अवस्था गम्भीर रहेको र बुटवलमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिए।
दुर्घटनापछि घाइतेको उद्धार नगरेको भन्दै आक्रोशित स्थानीयले गाडीमा सवार रहेका नेपाली कांग्रेस गुल्मीका नेता भुवन श्रेष्ठलाई स्थानीयले घेरेका थिए
प्रहरी नायब उपरीक्षक रानाले स्थानीय आक्रोशित भिड जम्मा भएपछि घाइते, चालक र गाडीमा सवार सबैलाई उद्धार गरिएको बताए।
रानाका अनुसार अहिले गाडीका चालक बलबहादुर थापा इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन्।