मोटरसाइकल र मोबाइल चोरी गरेको आरोपमा कैलाली प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
मोटरसाइकल चोरी आरोपमा जिल्लाको टिकापुर नगरपालिका– १ नयाँ टिकापुरका २० वर्षीय आकाश बिष्ट र टिकापुर – १ एकता नगरका २४ वर्षीय भीम रावल र २४ वर्षकै नरेश रावल पक्राउ परेका छन्।
जिल्लाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार टिकापुर – १ एकता नगरका धनबहादुर सोपको घरको आँगनमा पार्किङ गरि राखिएको भारतीय नम्बर प्लेट भएको यू.के.०६ – बिजी २९६८ नम्बरको मोटरसाइकल चोरी भएको थियो।
आफ्नो मोटरसाइकल चोरी भएको बारे इलाका प्रहरी कार्यालय टिकापुरमा पुगेर पीडित सोपले निवेदन दिएका थिए।
प्रहरीले खोजी गर्ने क्रममा जानकी गाउँपालिका –३ भगतपुरमा लुकाइछिपाइ राखेको मोटरसाइकल फेला पारेको थियो। त्यसपछि ती तीन जनालाई पक्राउ गरिएको डिएसपी तिमिल्सिनाले जानकारी दिए।
जिल्ला अदालतबाट आइतबार म्याद थप भइ आवश्यक अनुसन्धान भइ रहेको डिएसपी तिमिल्सिनाले बताए।
त्यस्तै इप्रका टिकापुरको क्षेत्रमा विभिन्न व्यक्तिका मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
टिकापुर – १ एकतानगरका २४ वर्षीय अमित तिमिल्सिना र १९ वर्षीय धिरेन्द्र शाही चोरीका विभिन्न पाँच वटा मोबाइलसहित पक्राउ परेको डिएसपी तिमिल्सिनाले बताए।
पक्राउ परेका यी दुई जना माथि अनुसन्धान गर्न जिल्ला अदालतबाट आइतबार म्याद थप भएको प्रहरीले जनाएको छ।