अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषा सबैला नगरपालिकाको तत्कालीन वडाध्यक्षसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
कृषि फार्म नै नखोली रकम भुक्तानी गरेपछि पालिका वडाध्यक्ष दुर्गाप्रसाद रायसहित ७ जनाविरूद्ध सोमबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
२०७७/७८ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका बाख्राको साना व्यावसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम सञ्चालन गर्न दिइएको रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार पालिका वडा-८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, इन्जिनियर रंजितकुमार यादव, लेखापाल शिवकुमार झा, पशुसेवा शाखाका प्रमुख राजकिशोर सल्हैता, अर्चना कृषि सहकारी संस्थाका अध्यक्ष संजुकुमारी यादव, प्रशासकीय अधिकृत स्वर्गीय बालवीर ठाकुरको श्रीमती पलवी र रौनितविरूद्ध मुद्दा दर्ता गरिएको हो।
उनीहरूले कृषि फार्मका लागि लिएको १४ लाख ७७ हजार ५ सय रूपैयाँ कुनै काम नै नगरी झुटा बिल तयार गरी रकम भुक्तानी गरेको अख्तियारको प्रवक्ता पौडेलले जानकारी दिए।
उनीहरूले भुक्तानी गरेको रकम बराबर नै अख्तियारले बिगो माग दाबी गरिएको छ।