दुई जना नाबालिकाको डिम्ब बिक्री गरेको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ।
सिआइबीले काठमाडौंको बबरमहलमा रहेको होप फर्टिलिटी एन्ड डायगोनिस्टिक प्रालिका ५ जनालाई नियन्त्रणमा लिएको थियो।
आइतबार र सोमबार गरी ५ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूमाथि अहिले हाजिर जमानीमा राखेर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।
सिआइबी प्रवक्ता एसपी युवराज खड्काका अनुसार दुई जना नाबालिकाका अभिभावकले डिम्ब बिक्री गरेको भनेर जाहेरी दिएका थिए।
बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को (थ) अनुसार सिआइबीले अनुसन्धान गरिरहेको एसपी खड्काले बताए। 'औषधि वा अन्य कुनै परीक्षणको लागि बालबालिकालाई प्रयोग गरेको’ कसुरमा सिआइबीले अनुसन्धान अघि बढाएको हो।
प्रहरी स्रोतका अनुसार यो घटनामा संलग्न भएको आरोपमा उक्त कम्पनीका जस्टिना प्रधान, डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, मालिनी चौधरी र एलिसा ओलीलाई नियन्त्रणमा लिएको थियो।
उनीहरू पाँचै जनालाई जिल्ला अदालत काठमाडौंमा उपस्थितसमेत गराएर हाजिर जमानीमा राखिएको हो। प्रहरी स्रोतका अनुसार ती बालिकालाई कम्पनीले प्रतिव्यक्ति १० हजार रूपैयाँ दिएर डिम्ब झिकिएको थियो।
‘उनीहरूले बालिकालाई १०/१० हजार रुपैयाँ दिएर डिम्ब निकालेका थिए। बालिकाहरू घरमा गएपछि परिवारले थाहा पाएर प्रहरीकहाँ पुगेका हुन्,’ स्रोतले भन्यो।
एसपी खड्काले भने कति रकम दिएर काम गरेको भन्नेबारे अनुसन्धान भइरहेको बताए।
बालिकाका अभिभावक पहिले मानब बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका थिए। घटनाबारे बुझेपछि ब्युरोले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै सिआइबीमा पठाएको थियो।
पीडित परिवारले सिआइबीमा जाहेरी दिएपछि अनुसन्धान अघि बढाएको हो।