दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज)को हत्या भएको १५ वर्ष बितिसक्दा पनि हत्यारा पहिचान र कारबाही नभएको भन्दै परिवारले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ।
शनिबार गृहमन्त्री रमेश लेखकलाई हेमराजका भाइ पुष्कर धितालले ज्ञापन पत्र बुझाउँदै आफ्नो दाइको हत्यार पत्ता लगाई कारबाही गर्न माग गरेका हुन्।
१५ वर्ष बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन र हत्याको कारण स्पष्ट भन्न नसकेका कारण परिवारसमेत त्रासमा बाँच्नु परेको पुष्करले ज्ञापन पत्रमा उल्लेख गरेका छन्।
दाङको रेडियो तुलसीपुर सञ्चालक समितिका तत्कालीन अध्यक्ष हेमराज त्यतिबेला राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समिति लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध थिए।
तत्कालीन समय नेपाली कांग्रेसको अधिवेशन चलिरहँदा पार्टी भित्र आन्तरिक निर्वाचनमा साविक उरहरी गाविसबाट उम्मेदवारी दिने सोचका साथ आफ्नै उरहरी गाविसका कांग्रेसका नेता कार्यकर्तालाई भेटेर फर्किने क्रममा उनको हत्या भएको थियो।
मोटरसाइकलमा राप्ती राजमार्ग हुँदै तुलसीपुरस्थित घर तर्फ आइ रहेका हेमराजलाई बाटो ढुकेर बसेको हतियार धारी एक समूहले लखेटी लेखेटी गोली प्रहार गरी हत्या गरेको थियो।
उनीमाथि उक्त हतियार धारी समुहले तुलसीपुर उपमहानगरपालिका– १२ जस्पुरको प्रहरी चौकी भन्दा झन्डै ५ सय मिटर उत्तरमा २०६७ साल साउन ६ गते बेलुकी सवा ७ बजेतिर गोली प्रहार भएको थियो । तत्काल तुलसीपुर पुर्याउँदा चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए ।
रेडियो तुलसीपुरका संस्थापक स्टेसन म्यानेजर (हालसम्मपनि) तथा सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरी र तुलसीपुरका पत्रकार गणेश आचार्यले परिवारको तर्फबाट गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्।
त्यस क्रममा गृहमन्त्री लेखकले आँफुले त्यसबारे बुझ्ने र प्रहरी प्रमुखलाई तत्काल धितालको हत्याबारे पहिचान भइसकेको भए आरोपितलाई पक्राउ गर्न निर्देशन दिने आश्वासन दिएको अध्यक्ष गिरीले बताए ।