अमेरिकाको लस एन्जलसमा एक युवकले भीडमा गाडी कुदाउँदा ३० जना घाइते भएका छन्।
स्थानीय समयअनुसार शनिबार बिहान लस एन्जलसको हलिउडस्थित 'द भर्मेन्ट हलिउड' नाइट क्लवबाहिर जम्मा भएका मानिसहरूमाथि युवकले गाडी कुदाउँदा ३० जना घाइते भएका हुन्।
उनीहरूमध्ये ७ जनाको अवस्था गम्भीर रहेको लस एन्जलस फायर डिपार्टमेन्ट (एलएफडी)लाई उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले लेखेको छ।
एलएएफडीका क्याप्टेन बेन फर्नान्डिजका अनुसार भिडमा गाडी कुदाउने युवक सोही नाइटक्लवबाट निकालिएका थिए।
क्लवभित्र विवाद गरेपछि त्यहाँका प्रतिनिधिहरूले उनलाई बाहिर निकालिदिएका थिए। त्यसपछि नजिकै रहेको आफ्नो गाडीमा बसेका थिए।
त्यतिबेला क्लवबाहिर मानिसहरूको भिड थियो। कोही स्टलमा खानेकुरा खाँदै थिए। कोही क्लव छिर्ने लाइनमा थिए। कोही बाहिरिँदै थिए।
अकास्मात् ती युवकले भिड भएकै ठाउँमा गाडी कुदाएपछि मानिहरु घाइते भएका थिए। उनले भिडमा गाडी कुदाएर रोकेपछि त्यहाँ उपस्थित भएका अन्य मानिसहरूले ती युवकलाई गाडीबाट थुतेर कुटपिट गरेका थिए।
केही पर रहेका एक व्यक्तिले त उनीमाथि गोली नै प्रहार गरेका थिए। कुटपिट र गोली प्रहारबाट ती युवक गम्भीर घाइते भएका छन्। घटनाको केही बेरमा नै प्रहरीले स्थिति नियन्त्रणम लिई भीडमा गाडी कुदाउने ती युवकलाई अस्पताल लगेको थियो।
घटनाबारे त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको सिएनएनले समाचारमा उल्लेख गरेको छ।