तनहुँको शुक्लागण्डकी नगरपालिकामा सेती नदीमाथि बनेको ढोरफिर्दी र दुलेगौंडा जोड्ने पुल बाढीले डुबाएको छ।
आइतबार विहानैदेखि परेको बर्षासँगै पोखराबाट बग्ने सेती नदी र शुरुङ्दी खोलामा आएको बाढीले पुल डुबाएको हो ।
उक्त पुलले शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीतर्फ वडा नम्बर ८, ९, १०, ११ र १२ लाई नगरपालिका केन्द्र भएको दुलेगौंडासँग जोडेको छ।
२०५४ सालमा बनेको उक्त पुल बर्षेनी बाढीले डुबाउने गरेको शुक्लागण्डकी नगरापालिका– ८ का वडाध्यक्ष नारायण सिंह थापाले बताए।
पुल डुबानमा परेपछि केही तल रहेको अर्को पुल प्रयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए।
‘यो पुल बर्सेनि यसरी नै बाढीको डुबानमा पर्ने गरेको छ। केही तल अर्को पुल ढलान हुँदै थियो। त्यही पुलको ढलान रोकेर अहिले सवारी साधन आवात जावत गर्न आग्रह गरिएको छ,’ उनले भने ।
उक्त पुलसँगै पुलचोकमा केही घरहरु पनि रहेका छन्। यी घरहरुमा तत्काल बाढीको जोखिम नरहेको वडाध्यक्ष थापाले बताए।


