सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा खण्डमा अत्यावश्यकबाहेक राति सवारीसाधन चलाउन प्रशासनले रोक लगाएको छ।
निरन्तर वर्षाका कारण बाढी र पहिरो आउन सक्ने भन्दै कास्की र स्याङ्जा प्रशासनले आइतबार राति सवारी चलाउन रोक लगाएको हो।
पोखरा–बुटवल जोड्ने सिद्धार्थ राजमार्गको कास्की र स्याङ्जा खण्ड जोखिमयुक्त भएकाले जनधनको क्षति हुन नदिन राति सवारी आवागमनमा रोक लगाएको कास्कीकी सिडिओ रुद्रादेवी शर्माले बताइन्।
‘मनसुन सक्रिय भएकाले सिद्धार्थ राजमार्गमा अत्यावश्यक बाहेकका सवारी चलाउन रातिको समयमा रोक लगाएका छौं,’ उनले भनिन्, ‘चलाउनै पर्ने अवस्था भए स्थानीय सुरक्षा निकायसँग जानकारी लिन आग्रह गरेका छौं।’
जिल्ला सुरक्षा समिति कास्कीले गरेको निर्णय अनुसार लामो दुरीको सवारीसाधन पोखराको छोरेपाटनबाट दिउँसो ४ बजेभित्र छुटाउने र छोटो दुरीका सवारी साँझ ५ बजे छुटाउने गरी निर्णय गरेको छ।
जिल्ला सुरक्षा समिति स्याङ्जाले पनि आइतबार साँझ ५ बजेदेखि सोमबार बिहान ५ बजेसम्म अत्यावश्यक बोहकका सवारीसाधन सिद्धार्थ राजमार्गमा नचलाउन आग्रह गरेको छ। सवारी चलाउनुपर्ने अवस्था भएमा स्थानीय सुरक्षा निकायसँग राजमार्गको अवस्था बुझ्न पनि सर्वसाधारणलाई आग्रह गरेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए।
मौसम विभागले अझै अत्याधीक बर्षाको सम्भावना भएकाले जनधनको क्षति हुन नदिन यस्तो निर्णय गरेको दुबै जिल्लाका सिडिओ कार्यालयहरूले जनाएका छन्।