सडक दुर्घटनामा परेर घाइते भएका व्यक्तिलाई अस्पताल लैजान ट्याक्सीको डिकीमा हालेर 'अमानवीय' व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएका छन्।
उनीहरूले प्रहरी वृत नयाँबानेश्वर र राष्ट्रिय मानव अधिकार आयोगमा जाहेरी दिएका हुन्।
असार २२ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१२ र काठमाडौं महानगरपालिका–३२ को बीचमा पर्ने मनहरा पुलमा ३४ वर्षीय अरूण थापा दुर्घटनामा परेका थिए। उपचार क्रममा अरूणको असार २७ गते मृत्यु भयो।
दुर्घटनापछि उनलाई आसपासका व्यक्तिले ट्याक्सीको डिकीमा हालेर अस्पताल पुर्याएका थिए। सो ट्याक्सीमा प्रहरी पनि थिए।
घाइते अरूणलाई 'अमानवीय' तरिकाले डिकीमा हाली अस्पताल पुर्याइएको र गतिविधि शंकास्पद देखिएको भन्दै उनको परिवारले प्रहरीविरूद्ध जाहेरी दिएको हो। दुर्घटना र अमानवीय व्यवहारबारे छानबिन गरिदिन अरूणको परिवारले आग्रह गरेको छ।
दुर्घटनामा घाइते भएका अरूणलाई ट्याक्सीको डिकीमा हालेर लैजाने अवस्था कसरी आयो भनेर हामीले प्रहरी, ट्याक्सी चालक र अस्पतालसँग कुराकानी गरेका छौं।
प्रहरीका अनुसार जडिबुटी पुलमा एक मोटरसाइकल दुर्घटनामा परेको खबर आयो। भक्तपुर प्रहरीको एक टोलीलाई तत्कालै घटनास्थल जान भनियो।
आफूहरू त्यहाँ पुग्दा आसपासका मानिसले घाइते अरूणलाई एउटा ट्याक्सीको डिकीमा हालिसकेको एक प्रहरीले बताए।
'हामी पुग्दा घाइतेलाई डिकीमा हालिसकेका थिए। उनको अवस्था गम्भीर भएकाले हामीले उनलाई फेरि निकालेर भ्यानमा हाल्दा ढिला हुने देखियो। समय खेर जान्छ भन्ने डरले प्रहरी पनि ट्याक्सीमै बसेर गइहाल्यौं,' घटनास्थल पुगेका प्रहरीले भने, 'त्यति बेला ज्यान बचाउनतिर मात्र लाग्यौं। अस्पताल पुर्याउनेमा मात्र ध्यान भयो।'
उनका अनुसार ट्याक्सी चालक पनि प्रहरीलाई नै खोजिरहेका थिए। आउनासाथ प्रहरीलाई राखेर ट्याक्सी अस्पतालतिर हुँइकियो।
'मानिसहरूले एम्बुलेन्समा पनि फोन गरेका थिए। तर आइपुग्न ३०/३५ मिनेट लाग्थ्यो। त्यसैले जे जस्तो अवस्था थियो, त्यसरी नै अस्पताल पुगियो,' ती प्रहरीले भने।
अरूणलाई डिकीमा राखेर जडिबुटीबाट भक्तपुर इन्टरनेसनल अस्पताल लगिएको थियो। त्यहाँ अस्पताल प्रहरीलाई जिम्मा लगाएर आफूहरू फर्किएको उनले बताए।
'घाइतेलाई हामीले डिकीमा हालेको वा हाल्न निर्देशन दिएको होइन। हामी पुग्दा उनी डिकीमै थिए। त्यही अवस्थामा अस्पताल लगेको हो,' ती प्रहरी अधिकारीले भने।
यसबारे हामीले सो ट्याक्सीका चालकलाई सोध्यौं।
उनका अनुसार उनी भक्तपुरबाट यात्रु खोज्दै आइरहेका थिए। जडिबुटी पुलअगाडि केही व्यक्तिहरूले खाली हो, बिरामी लाने भनेर सोधे। उनले खाली भएको संकेत गरे।
'रोकिएर बिरामी खोइ भन्दै थिएँ, केही व्यक्तिले घाइतेलाई बोकेर ल्याए। पानी परिरहेकाले घाइते हिलाम्मे र रगताम्मे थिए। मैले सिटको कभर (खोल) उल्टो बनाउँदै थिए। मानिसहरूले नै त्यहाँ फोहोर लाग्छ, डिकीमा हालौं भने। मैले पनि खोलिदिएँ,' ट्याक्सी चालकले भने, 'आपत अवस्था थियो, त्यहाँ राख्नु हुँदैन भन्ने ध्यान नै भएन।'
घाइतेलाई डिकीमा राखिसकेपछि प्रहरी आएको र प्रहरीलाई सँगै लिएर अस्पताल गएको उनले बताए।
'अस्पतालसम्म घाइतेलाई निःशुल्क पुर्याएको हुँ,' उनले भने।
घाइतेलाई अस्पतालका प्रहरीको जिम्मा लगाएर आफू र ट्याक्सीमा बसेका प्रहरी सँगै फर्किएको उनको भनाइ छ।
अस्पतालका प्रहरीले पनि ट्याक्सी चालक, भक्तपुर प्रहरी आएर सबै विवरण दिएर घाइतेलाई भर्ना गरी फर्किएको बताए।
'घाइते अरूणको टाउकोमा चोट लागेको थियो। उनी अचेत थिए। बीचमा उनको फोन आएको थियो। मैले उठाएर दुर्घटनाबारे जानकारी गराइदिएँ,' अस्पताल प्रहरीले भने, 'अस्पताल ल्याएको आधा घन्टामा उहाँको परिवार आउनुभएको थियो।'
भक्तपुर इन्टरनेसनल अस्पतालका व्यवस्थापक रामजी श्रेष्ठले घाइते ल्याउनेबित्तिकै उपचार थालेको र कुनै कसर बाँकी नराखेको बताए।
'हामीले दुई–तीन पटक अपरेसन गर्यौं तर बचाउन सकिएन,' व्यवस्थापक श्रेष्ठले भने, 'टाउकोमा गम्भीर चोट लागेको थियो।'
परिवारले घटना कसरी भयो भनेर बुझ्न खोजेपछि अस्पतालमा ल्याउँदाको सिसीटिभी क्यामरा भिडिओ देखाइएको थियो।
'डिकीमा राखेर ल्याएको थाहा पाएपछि उहाँको परिवार प्रहरीकोमा जानुभएको हो,' व्यवस्थापक श्रेष्ठले भने, 'हामीलाई पनि सुरूमा थाहा थिएन, के कसरी ल्याइयो भन्नेबारे सोधखोज गर्नतिर लागेनौं।'
अरूणका भाइ अनिल घाइतेलाई डिकीमा राखेर 'अमानवीय' व्यवहार गरेको भन्दै प्रहरीकहाँ पुगेका हुन्।
'एउटा बिरामीलाई डिकीमा हालेर लैजानु कतिको जायज हो?,' अनिलले भने, 'प्रहरी नै ट्याक्सीमा चढेर अस्पताल पुगेका छन्। बिरामीलाई डिकीमा राख्नु हुँदैन भन्ने सामान्य ज्ञान त हुनुपर्छ नि।'
दुर्घटनाका कारण आफ्ना दाइलाई गुमाए पनि उनीमाथि अमानवीय व्यवहार भएकाले न्याय पाउनुपर्ने उनको भनाइ छ।
'हामीले घटना कसरी भयो र किन डिकीमा हालेर लगियो भनेर कारण मागेका छौं। मान्छेमाथि यस्तो व्यवहार किन गरियो भन्ने जबाफ दिनुपर्छ,' अनिलले भने।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराका अनुसार पीडित परिवारले जाहेरी दिएसँगै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
'मुद्दा दर्ता गराए पनि हेरिरहेका छौं,' एसपी बोहोराले भने, 'तीव्र गतिका कारण दुर्घटना भएको देखिन्छ। सडकको रेलिङमा ठोक्किँदा चोट लागेको देखिएको छ।'
डिकीमा हाल्नुपरेको कारणबारे भने अनुसन्धान चलिरहेको उनले बताए।
तर प्रारम्भिक अध्ययन अनुसार सर्वसाधारणले नै ट्याक्सीको सिटमा रगत लाग्छ भनेर घाइतेलाई डिकीमा हालेको देखिएको उनले बताए।
'बाँकी अनुसन्धान गर्दैछौं,' उनले भने, 'घाइतेलाई डिकीमा हालिसकेपछि प्रहरी पुगेकाले सोही ट्याक्सीमा चढेर अस्पताल लगिएको भनिएको छ।'