सहकारी बचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले सहकारी पीडितको बचत रकम फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको छ।
सहकारी बचतकर्ताको बचत रकम फिर्ता गर्न र पीडकलाईलाई कारबाहीको माग गर्दै महासंघले मंगलबार काठमाडौंमा मोटरसाइकल र्यालीसहित आन्दोलित भएको हो।
साथै, महासंघले १६ समस्याग्रस्त सहकारीहरूको सूची सहकारी नियमन प्राधिकरणमा बुझाएको छ।
महांघमा आबद्ध १६ वटा समस्याग्रस्त सहकारीहरूको सूची प्राधिकरणमा बुझाएको हो।
अभियानका कोषाध्यक्ष देव श्रेष्ठले सहकारी पीडितलाई न्याय दिन माग गर्दै लामो समयदेखि आफूहरूले आन्दोलन जारी राखेको भए पनि राज्यले सुनुवाइ नगरेको गुनासो गरे।
शासकहरू सहकारी पीडितको माग सम्बोधन गर्न तयार नरहेको उनको भनाइ छ।
उनले सहकारी पीडितको माग राज्यले नसुनेको र आन्दोलनकारीको शक्ति नपत्याएको भन्दै बचतकर्ताको बचत मागेर होइन खोसेर लिनुपर्ने अवस्था आएको चेतावनी दिए।
उनले भने, ‘सहकारी पीडितलाई न्याय देऊ भनेर हामी हिँडेको ३० महिनाभन्दा बढी भइसक्यो। तर पनि राज्यका शासकहरूले हाम्रो मागको सुनुवाइ गरेन। हाम्रो अधिकार हामीले मागेर पाउँथ्यौं भने आजसम्म राज्यले दिइसक्थ्यो। तर राज्यले हाम्रो शक्तिलाई पत्याएन। त्यसकारण अब हाम्रो हक र अधिकार हामी मागेर होइन, खोसेर लिनुपर्छ भनेर आज १६ वटा समस्याग्रस्त सहकारीहरूलाई प्राधिकरणमा लैजाँदैछौं। त्यसपछि हामी कर्जा असुलीकरणमा हामी जान्छौं। छिटोभन्दा छिटो महासंघमा आबद्ध भएका सहकारीहरूलाई समस्याग्रस्त सहकारीको रूपमा लिएर त्यसको सुधार गरेन भने शक्ति प्रदर्शन हुने सन्देश दिन चाहन्छु।’
अभियानले समस्याग्रस्त सहकारीका सञ्चालकहरूमाथि कारबाही र पीडितलाई रकम फिर्ता गराउन माग विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।
सहकारीहरूको नियमन र बचतकर्ताको बचत रकम अपचलन गर्ने जो कोहीलाई कानूनको दायरामा ल्याउनका लागि सरकारले ललितपुरको पुल्चोकमा प्राधिकरण स्थापना गरेको छ। —न्युज एजेन्सी नेपाल