सुर्खेत प्रहरीले गुन्डागर्दीमा संलग्न एक व्यक्तिलाई पक्राउपछि सार्वजनिक गरेको छ।
वीरेन्द्रनगर नगरपालिका–१० का ४० वर्षीय विनोद गिरीलाई प्रहरीले पक्राउपछि मंगलबार सार्वजनिक गरेको हो।
सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहानजंग बुढथापाका अनुसार साउन ३ गते बेलुकी ५ बजेतिर गिरीले वीरेन्द्रनगर–१० स्थित ‘भिजिट कर्णाली रिसोट प्रालि’ मा कार्यरत कर्मचारीमाथि खुकुरी प्रहार गर्नुका साथै कुटपिट गरी घाइते बनाएका थिए।
घटनापछि फरार रहेका आरोपित गिरीलाई प्रहरीले वीरेन्द्रनगर–१ बाट पक्राउ गरेको थियो।
डिएसपी बुढथापाका अनुसार गिरीको विगत पनि राम्रो छैन।
गिरीविरूद्ध २०७०/०८/ २८ गते जिन्सी तथा नगद लुटी चोरी लगेकोबारे डाँका चोरी मुद्दा चलेको थियो। त्यसपछि गिरीका विरूद्ध २०७०/१२/ १७ गते मानिसलाई हेलमेट प्रहार गरेको हुँदा ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलेको थियो। गिरीविरूद्ध २०७१/०६/ २६ गते केही सार्वजनिक अपराधमा मुद्दा चलेको थियो भने २०७२/१२/२७ गते ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा, २०७८/०६/ ११ मा धारिलो हतियार खुकुरी, तलवार, खुँडा प्रहार गरी व्यक्तिको हात काटेको हुँदा ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो।
डिएसपी बुढथापाका अनुसार पछिल्लो समय खुकुरी प्रहार गरी रिसोर्टका कर्मचारीलाई सक्त घाइते तुल्याएका गिरीविरूद्ध २०८०/०२/ १० गते पनि खुँडा, नक, रडले प्रहार गरी व्यक्तिलाई घाइते बनाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा चलेको विगत छ।
पक्राउपछि प्रहरी हिरासतमा रहेका गिरीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।