नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ।
बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो।
चीनमा फसेकालाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो।
तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि काठमाडौँसम्मको यातायातको व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेको जानकारी दिए।
बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको उनले बताए।