अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास विरूद्धको काम सक्न इसराइललाई निर्देशन दिएका छन्।
शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले गजामा सैन्य कारबाही तीव्र पारेर हमास विरूद्धको काम सक्न इसराइललाई निर्देशन दिएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
‘मलाई लाग्छ हमासहरू मर्न चाहन्छन् र यो अत्यन्त खराब हो। अब तिमीहरूले काम टुंग्याउनुपर्छ,’ ट्रम्पले भनेका छन्।
उनले गजाबाट हमासको नामनिसान मेटाउनुपर्ने बताएका छन्। ‘इसराइलले छुटकारा पाउनका लागि उनीहरुको सखाप पार्नुपर्नेछ,’ उनले भने।
ट्रम्पले हमाससँग केही बन्धकहरु बाँकी रहेकाले उनीहरु युद्धविरामको पक्षमा नरहेको पनि ट्रम्पले बताएका छन्।
‘सबै बन्धकहरू मुक्त भएपछि के हुन्छ भनेर उनीहरूले राम्ररी बुझेका छन्। त्यसकारण उनीहरू तत्काल युद्धविराम र बन्धक रिहा गर्न चाहँदैनन्,’ ट्रम्पको भनाइ उद्धृत गरेर सिएनएनले लेखेको छ।
शुक्रबार इसराइल र अमेरिकाले गजामा युद्धविरामका लागि छलफल गरिरहेका टोलीलाई फिर्ता बोलाएका थिए।
दुवै देशले हमास युद्धविरामका लागि तयार नभएको भनेर आफ्ना वार्ताकारहरूलाई दोहाबाट फिर्ता बोलाएका थिए।
गजामा युद्धविरामको मध्यस्थता इजिप्ट, कतार र अमेरिकाले गर्दै आएको थियो। त्यसका लागि कतारमा धेरै दिनदेखि छलफल भइरहेको थियो।
युद्धविरामको मस्यौदामा उल्लिखित सर्तहरूबारे हमासले असन्तुष्टि जनाएको थियो। युद्धविरामका सर्तहरूको मस्यौदा अमेरिकाले बनाएको थियो।
ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले ६० दिनको युद्धविरामका लागि गरेको प्रस्तावहरूमा इसराइलले यसअघि नै सहमति जनाइसकेको थियो। हमासले पनि सहमति भएको तर केही सर्तहरूमा संशोधन गर्नुपर्ने प्रस्ताव राखेको थियो।
त्यसमा इसराइल र अमेरिका तयार नभएपछि युद्धविरामबारेको छलफल भाँडिएको थियो।
वार्ता टोली नै फिर्ता बोलाएपछि विटकोफले बन्धकमुक्त गर्नका लागि अन्य उपायहरू अवबलम्बन गरिने बताएका थिए।
इसराइलले वार्ता हुने सम्भावना नसकिएको बताएको छ। उसले प्राविधिक विषयमा छलफलका लागि टोली फिर्ता गरिएको भनेको छ।
कतारले भने यसलाई वार्ता निष्कर्षमा पुग्नै लाग्दा गएको भुइँचालो भनेका छन्।
‘त्यो ठूलो भूकम्प थियो। अहिले पराकम्पमा छौं,’ वार्तामा सहभागी हुँदै आएका एक अधिकारीले सिएनएनसँग भनेका छन्।
इजिप्टले पनि वार्ताको सम्भावना नसकिएको बताएको छ।
युद्धविरामका लागि वार्ता टेवलमा बस्ने वातावरण बनाउन सकिने भएकाले अहिले नै सबै सकियो भन्ने निर्णयपमा पुग्न नहुने भनेको छ।
गजामा मानवीय संकट भयावह बनेको छ।
बालबालिकाहरू कुपोषणको सिकार भएको हृदयविदारक तस्बिरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरिरहेका छन्।
त्यहाँ पर्याप्त मानवीय सहायताको पुर्याउन इसराइलले नै अवरोध गरेको अन्तर्राष्ट्रिय संघ संस्थाहरूले बताउँदै आएका छन्।
मानवीय सहयता वितरणस्थलमा मानिसहरूको भिड लाग्ने र त्यही भिड अनियन्त्रित भएपछि इसराइली सेनाले गोली चलाउने गरेको घटना पनि सार्वजनिक भएका थिए।
इसराइली अधिकारी भने बाहिर चर्चा गरिएजस्तो गजामा मानवीय संकट नरहेको दाबी गर्छन्।
संयुक्त राष्ट्रसंघ लगायत धेरै देशहरूले गजामा मानवीय संकट भयावह बनेकाले तत्काल युद्धविराम गरी मानवीय सहायता पुर्याउनुपर्ने बताएको छ।