मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित भारतीय नागरिकहरू पक्राउ परेका छन्।
शनिबार बेलुका ८ बजे सशस्त्र प्रहरीको टोलीले इन्द्रसरोवर गाउँपालिका-२ हेवी चोकबाट लागुऔषध सहित चार जना भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिएको थियो।
सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार भारतको सुगौलीबाट पर्साको वीरगन्ज हुँदै काठमाडौं आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको गाडी चेकजाँचका क्रममा गाडीको तीन वटा ढोकामा फल्स बटम बनाएर राखिएको लागुऔषध भेटिएको थियो।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको डिएसपी थापाले जानकारी दिए।
नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने ४३ वर्षिय शेख सपुर, १९ वर्षिय निसाव आलम, २५ वर्षिय ओसिम अहमद र २४ वर्षिय शेख गजुर छन्।
नियन्त्रणमा लिइएकाहरुमध्ये २४ वर्षिय शेख गजुर उक्त गाडीको चालक रहेका छन् ।
बरामद लागूऔषधमा नोफिन २ हजार ४ सय वटा, डाइजेपाम २ हजार ४ वटा, प्रोमेथाइजन हाइड्रोक्लोराइड २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराइड क्याप्सुल ५ वटा रहेको छ ।
नियन्त्रणमा लिएकाहरुलाई बरामद लागूऔषध तथा गाडीसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी थापाले जानकारी दिए।