सिन्धुलीबाट बेपत्ता भएको हायु परिवार पोखरामा भेटिएको छ।
इलाका प्रहरी कार्यालय सिसुवा, कास्कीका इन्स्पेक्टर हरि सलामी मगरका अनुसार उनीहरू सोमबार राति पोखरा महानगरपालिका-३० मा भेटिएका हुन्।
'परिवार फेला परेको छ। बाँकी बुझ्दैछौं,' उनले भने।
सुरूमा सिन्धुलीबाट हायु परिवारका १६ जना बेपत्ता भएको भनिएको थियो। तर हराएको सूचीमा नाम भएकी माइली छोरी प्रहरीको सम्पर्कमा आएकी थिइन्।
परिवारकी माइली छोरी सुजता हायु सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका हुन्। उनका अनुसार सुजता उनका श्रीमान आयुष श्रेष्ठसँग केही महिनादेखि नै काठमाडौंमा बस्दै आएकी थिइन्।
तर हराएको सूचीमा सुजताको नाम पनि थियो। गाउँलेहरूले उनको पनि नाम जोडे पनि गाउँको घरमा उनी नभएको प्रहरी अनुसन्धानमा खुलेको हो।
सुजताले पनि परिवारसँग सम्पर्क हुन नसकेको प्रहरीलाई बताएकी थिइन्।
सम्बन्धित समाचार
ऋण लागेको थियो सिन्धुलीमा सम्पर्कविहीन भएको परिवारलाई, हालै बुझेका थिए भत्ता
सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ मा जंगलछेउ एउटा घर छ। एकान्तमा रहेको उक्त घरमा लोपोन्मुख हायु जातिको एक परिवार बसोबास गर्दै आएको थियो।
जस्तापाताले छाएको मूल घरको पालिमा खरले छाएको भान्साकोठा थियो। आगलागीले भान्साकोठा जलेको देखिन्छ।
गाउँलेहरूका अनुसार त्यो घरमा १६ जनाको परिवार बस्थ्यो। सोमबार एकाएक घर सुनसान देखेपछि गाउँलेहरूले सोधखोज सुरू गरे। जनप्रतिनिधि र प्रहरीले पनि उनीहरूको खोजी थाले।
वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार उनीहरूले हालै भत्ता बुझेका थिए।
'हायु समुदायका उनीहरूलाई सरकारले भत्ता दिने गर्छ। तीन-चार दिनअघि परिवारका सबै सदस्यहरूले भत्ता बुझेका थिए,' उनले सेतोपाटीसँग भने।
हायु समुदायका व्यक्तिलाई सरकारले मासिक जनही चार हजार रूपैयाँ भत्ता दिने गरेको छ। परिवारका उनीहरूले प्रतिव्यक्ति १२ हजार रूपैयाँका दरले (तीन महिनाको) १ लाख ८० हजार रूपैयाँ भत्ता झिक्न वडाबाट साउन ९ गते सिफारिस लगेका थिए।
सोमबार परिवार नै सम्पर्कविहीन भएपछि खोजी सुरू गरिएको हो।
गाउँलेका अनुसार यो परिवारकी मूली उर्मिला हायु हुन्। उनको परिवारमा १८ जना सदस्य थिए। एक बुहारी विदेश र एक छोरी काठमाडौंमा बस्दै आएका छन्। घरमा उर्मिला, ६ जना छोरा, ६ जना छोरी, एक जना ज्वाइँ, एक बुहारी र एक नाति गरी १६ जना बस्दै आएका थिए।
'गाउँलेहरूले गत शुक्रबार उनीहरूलाई देखेका रहेछन्, त्यसपछि कसैले पनि देखेको रहेनछ,' वडाध्यक्ष श्रेष्ठले भने, 'खुर्कोटतिर गएका छन् रे भन्ने हल्ला सुनिएको छ, यकिन छैन।'
घर एकान्तमा छ। नजिकको छिमेकीको घर जान १५ मिनेटजति लाग्ने पनि उनले बताए।
'एकान्तमा घर भएकाले पनि यो परिवारका सदस्य कहिलेदेखि सम्पर्कविहीन छन् भन्ने यकिन छैन,' उनले भने।
उनीहरूले छिमेकीको घरनजिकै छाप्रो बनाएर भैंसीपालन गरेका थिए।
'भैंसीलाई घासपात गर्न दिनहुँ उनीहरू छाप्रोमा आउँथे। त्यस बेला गाउँलेहरूसँग भेट हुन्थ्यो, कुराकानी पनि हुने गरेको रहेछ,' वडाध्यक्ष श्रेष्ठले भने, 'तर दुई-तीन दिनदेखि भैंसीलाई घाँसपात, कुँडोपानी गर्न नआएपछि के भयो भनेर गाउँलेहरू हायुको घरमा गएका रहेछन्। घरमा कोही नदेखेपछि उनीहरूले वडा कार्यालयमा खबर गरे।'
वडाध्यक्ष श्रेष्ठ पनि सोमबार बिहान हायुको घरमा पुगेका थिए।
'घरको एकापट्टी भाग आगलागी भएको देखिन्छ। तर घरमा कोही पनि भेटेनौं। घरका सामान चाहिँ त्यसै छ,' उनले भने।
उनीहरूले सुँगुर पनि पालेका थिए। तर त्यो सुँगुर केही दिनअघि काटेर मासु खाएको र केही बिक्रीसमेत गरेको पाइएको पनि उनले बताए।
'दुई-तीन किलोजति मासु घरमै थियो,' उनले भने, 'दुई वटा बाख्रा र कुकुर भने घरमै रहेछन्।'
उर्मिला हायुका श्रीमानको तीन वर्षअघि मृत्यु भएको थियो।
'श्रीमानको मृत्युपछि उर्मिलाको परिवार ऋणमा डुबेको रहेछ। बैंक तथा वित्तीय संस्थाका मानिसहरू ऋण उठाउन पनि पटक-पटक घरमा पुगेका रहेछन्,' उनले भने।
उनीहरूको परिवारका सदस्यहरूले मोबाइल प्रयोग गर्ने गरे पनि सबै स्वीच अफ थियो।