अमेरिकाको म्यानहाटनमा प्रहरीसहित चार जनाको हत्या गरी एक पुरूषले आफैमाथि गोली चलाएका छन्।
एशोसिएटेड प्रेसका अनुसार सोमबार म्यानहाटन अफिस टावरमा प्रवेश गरेका एक पुरूषले चार जनामाथि राइफल चलाएर हत्या गरेका हुन्। जसमध्ये एक जना न्युयोर्क सिटी प्रहरी अधिकारी पनि छन्। पाँचौं व्यक्तिमाथि गोली चलाएर घाइते बनाएपछि उनले आफैमाथि गोली प्रहार गरी आत्महत्या गरेका हुन्।
गोली प्रहार गर्ने व्यक्ति लस भेगसका शेन तामुरा हुन्। प्रहरी कमिसनर जेसिका टिस्चका अनुसार शेन मानसिक स्वास्थ्यका बिरामी पनि थिए। यद्यपि उनले किन उक्त घटना गरे भन्नेबारे यकिन भइसकेको छैन।
‘उनले यही ठाउँमा आएर किन गोली प्रहार गरे भन्नेबारे बुझ्ने काम गरिरहेका छौं,’ उनले भनिन्।
सिसिटिभी फुटेजमा देखिएअनुसार उनी साढे ६ बज्नअघि राइफल बोकेर निस्किएको देखिन्छ। त्यसपछि उनी त्यहाँबाट उक्त भवनमा प्रवेश गरी गोली प्रहार गर्न थालेको कमिसनर टिस्चले बताइन्।
गोली प्रहारबाट ज्यान गुमाउनेमा तीन जना पुरूष र एक जना महिला छन्। तीमध्ये एक जना पुरूषलाई उपचारका लागि लग्दै गर्दा मृत्यु भएको रोयटर्सले जनाएको छ।
कमिसनर टिस्चका अनुसार ज्यान गुमाएका प्रहरी अधिकारी बंगलादेशी मूलका ३६ वर्षीय दिदारूल इस्लाम हुन्।
उनले आफ्नो ज्यान जोखिममा राखेर अरूको रक्षा गर्ने क्रममा मारिएको टिस्चले बताएकी छन्।
‘उनले आफ्नो ज्यान जोखिममा राखेर हामीले दिएको जिम्मेवारी निर्वाह गरे। उनले आफैलाई त्याग गरे। उनी हिरो हुन्,’ टिस्चले भनिन्।