मधेस प्रदेशमा खडेरीका कारण हुन सक्ने खाद्य संकट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन्।
काठमाडौंमा आज सञ्चारिका समूह र एक्सनएडले संयुक्त रूपमा अयोजना गरेको जलवायु न्यायसम्बन्धी कार्यक्रममा धारणा राख्दै कृषि विज्ञ पौडेलले मधेस तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको बताए।
कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्वर शक्ति गुमाएको र त्यसले वातावरण तातो बनाएर हालको खडेरीको समस्या निम्तिएको डा. पौडेलको भनाइ छ। सोही कारण आगामी दिनमा कृषि प्रणाली परिवर्तन गरी तराई क्षेत्रको वातारण चिसो बनाउन हरियाली कायम तर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ।
यस्तै, कार्यक्रममा वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पती समेत प्रभावित भएकाले ती क्षेत्रका मुद्दा समेत उजागर हुनुपर्ने बताए।
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मुद्दा उठाउन बाटो देखाएको उनले बताए।
यस्तै, अर्का वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकार लगायत सरोकारवालाले भावी पुस्ताको अधिकारको समेत ध्यान दिनुपर्ने बताए।
सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले जलवायू न्यायबाट विशेषगरी महिलाहरू प्रभावित भएको बताइन्।
सुख्खा भएसँगै पानीका लागि लामो यात्रा गर्दा महिलाहरु प्रभावित हुने गरेको उनको भनाइ छ।
मधेस लगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धान खेती हुँदै आएकामा खडेरीले रोपाइँमा समस्या पर्दै आएको छ।