युनिटी लाइफ इन्टरनेशनल लिमिटेडमा लगानीको नाममा ठगीमा परेका पीडितले रकम फिर्ता पाउने भएका छन्।
जिल्ला अदालत ललितपुरले मंगलबार एक सूचना जारी गर्दै दाबी प्रमाणसहित निवेदन दिन आउन भनेको हो।
पीडितहरूलाई एक महिनाभित्र निवेदन दिन भनिएको छ।
‘सर्वोच्चको फैसला अनुसार युनिटी लाइफ इन्टरनेशनल लिमिटेड ललितपुरका नाममा रकम जम्मा गर्ने सबै सरोकारवालाहरूलाई सूचित गरिन्छ कि आफ्नो दाबी प्रमाणसहित एक महिनाभित्र यस अदालतको तहसिल शाखामा वा देशभरका जुनसुकै जिल्ला अदालतका तहसिल शाखा मार्फत रकम फिर्ताका लागि निवेदन दर्ता गर्नुहोला,’ सूचनामा भनिएको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले युनिटी लाइफ इन्टरनेशनलले आफ्नो सम्पत्तिमार्फत पीडितको बिगो रकम फिर्ता गराउने फैसला गरेको थियो।
सर्वोच्चले नै फैसला कार्यान्वयनमा लागि ललितपुर जिल्ला अदालतका तहसिलदारलाई जिम्मेवारी तोकेको थियो।
बिगो दाबी गर्नका लागि एक महिनाको म्याद दिएर सूचना प्रकाशित गर्ने, पहिलो पटक सूचना प्रकाशित भएको मितिले सात/सात दिनको फरकमा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा एक महिनाको म्याद दिएर दोस्रो र तेस्रो पटक सूचना प्रकाशन गर्न समेत फैसलामा निर्देश गरिएको थियो।
यसरी प्रमाणसहित दाबी गरिएको बिगो रकम भराउनका लागि कम्पनीको सम्पत्तिबाट भराउने भनिएको थियो।
ललितपुर जिल्ला अदालतले तोकिएको सीमाभित्र दाबी पेश नगरेमा फैसला कार्यान्वयनतर्फ जाने र म्याद समाप्त भएपछि कुनै पनि निवेदन दर्ता नगरिने बताएको छ।