काठमाडौंको गोंगबुमा प्रहरीले छापा मारेर करिब ३ करोड ७५ लाख रूपैयाँ रकम बरामद गरेको छ।
मंगलबार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर २६ गोंगबुमा रहेको एक घरबाट उक्त रकम बरामद भएको एसएसपी शेखर खनालले बताए।
प्रहरी पुगेको घर गोरखाका ७६ वर्षीय विनोदकुमार श्रेष्ठको हो।
‘अहिलेसम्म रकम गन्दा करिब ३ करोड ७५ लाख भन्ने छ। यकिन विवरण अझै आउन बाँकी छ,’ उनले भने, ‘गहना पनि बरामद भएको छ। तौल लिन बाँकी छ।’
गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पुगेको थियो।
त्यहाँ पुगेर अहिले बैंकबाट पैसा गन्ने मेसिन पनि ल्याएको छ।
प्रहरीले घरधनी विनोद कुमारलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
विनोद कुमारले सुनका गरगहना धितो लिएर अनुचित लाभ लिने गरेको प्रहरीको आरोप छ।
‘प्रारम्भिक अनुसन्धानमा उनले गहना लिएर अनुचित रूपमा ब्याजमा लगानी गर्ने बुझिएको हो,’ एसएसपी खनालले भने।