सोलुखुम्बुको थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिकामा ५ वटा घर बगाएको छ।
गाउँपालिकाका प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ का ५ वटा घर बाढीले बगाएको हो।
उनका अनुसार थामे खोलाको बहाव मोडिएर बस्ती कटान गरेको हो। बाढीले थप ६ वटा घरमा समेत क्षति पुगेको छ।
आइतबार राति आएको बाढीले घर बगाए पनि मानवीय क्षति भने नभएको गाउँपालिकाले जानकारी दिएको छ।
अघिल्लो वर्षको साउन अन्तिममा हिमताल विष्फोट भएर थामे क्षेत्रमा ठूलो क्षति भएको थियो।
यसपटक भने थामे खोलाको बाढीले बस्ती कटान गरेको हो। विद्युतका पोलहरू समेत बाढीले बगाएपछि विद्युत सेवा ठप्प भएको छ।
थामे क्षेत्रमा जोखिम कायमै रहेको भन्दै उच्च सतर्कता अपनाउन गाउँपालिकाले स्थानीयबासीलाई आग्रह गरेको छ।
यसैगरी सोलुखुम्बुकै महाकुलुङ गाउँपालिका–३ र ४ को सीमाना भएर बग्ने हुँगा खोलामा निर्माणाधीन २२ मेगावाट क्षमताको मिड हुँगा खोला ‘ए’ विद्युत आयोजनामा क्षति भएको छ।
बाढीले हाइड्रो निर्माणका लागि जडान गरिएको बेलिब्रिज र निर्माण सामग्री बगाएको छ।
सोमबार बिहान अचानक बाढी आएर क्षति गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिए।
उक्त हाइड्रो एपेक्स मकालु हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको छ। बाढीले हाइड्रोको सुरूङ निर्माणमा प्रयोग हुने ब्रुमर मेसिन, ५०० मिटर अर्थिङ प्लेट, रेडिउसर पाइप र एमएस पाइप बगाएको छ।