भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताले सोमबार पोखरामा पनि प्रदर्शन गर्दैछन्।
सामाजिक सञ्जालमार्फत पोखराका युवाहरुले सोबार बिहान १० बजे पोखरा सभागृह अगाडि विरोध प्रदर्शन गर्ने जानकारी गराएका हुन्। उनीहरुले प्रदर्शनमा प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हुन्।
‘भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरुद्ध हामीले भोलि पोखरामा प्रदर्शन गर्दैछौं,’ प्रदर्शनको आह्वान गर्दै एक युवतीले भनिन्, ‘हामी प्लाकार्ड बोकेर शान्तिपूर्ण रुपमा उभिन्छौ। युवा पुस्ताको व्यापक सहभागिता हुन्छ।’
सामाजिक संजाल बन्द हुँदा धेरैको व्यवसाय ठप्प हुनुका साथै रोजिरोटी गुमेको उनीहरुले बताएका छन्।
देशविदेशमा रहेका आफन्तसँग कुराकानी गर्नसमेत नपाएको भन्दै उनीहरुले नेताहरुले भ्रष्टाचार ढाकछोप गर्न सामाजिक संजाल बन्द गराएको आरोप लगाएका छन्। भ्रष्टाचार विरुद्ध अब नयाँ पुस्ता आन्दोलनमा उत्रनुको विकल्प नभएको पनि उनीहरुले सामाजिक सञ्जालमार्फत सुचना सम्प्रेषण गरेका छन्।
पोखरामा आयोजना गरिएको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै उनीहरुले विरोध जनाउन सम्भव भएसम्म कालो पोशाक लगाउन पनि सहभागीलाई आह्वान गरेका छन्।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका जेनजी पुस्ताको नेतृत्व र सहभागितामा प्रदर्शन गर्न लागिएको प्रदर्शनका आयोजकहरुले जानकारी दिएका छन्।