नेपाली सेनाले बुधबार बेलुकीसम्म निषेधाज्ञा जारी गरेको छ।
बुधबार बिहान जनसम्पर्क तथा सूचना निर्देशनालयले अपिल जारी गर्दै बेलुकी ५ बजेसम्मलाई निषेधाज्ञा रहेको जानकारी दिएको हो।
यस्तै त्यसपछि बिहीबार बिहान ६ बजेसम्मलाई कर्फ्यू आदेश जारी रहने पनि सेनाले जनाएको छ।
निषेधाज्ञा तथा कर्फ्यूको समयमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य नचलाउन पनि सेनाले अनुरोध गरेको छ।
एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनहरूमात्रै सञ्चालन हुन सक्नेछन्।
त्यस्तै सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरूलाई दण्डनीय अपराधका रूपमा कडा कारबाही गर्ने समेत चेतावनी दिएको छ।
आन्दोलनका नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहरूले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवं व्यक्ति लक्षित हिंस्रक आक्रमण बलात्कार प्रयास जस्ता क्रियाकलाप गरिरहेको पनि सेनाले जनाएको छ।
नेपाली सेनाले अवकाश प्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई अफवाहको पछि नलाग्न र आधिकारिक सूचनाको मात्रै सम्प्रेषण गर्न अनुरोध गरेको छ।