उच्च अदालत पोखरा र जिल्ला अदालत कास्कीले हस्तलिखित सुचना जारी गर्दै अनिश्चितकालका लागि पेशी स्थगित गरेको छ।
उच्च अदालत पोखराका रजिष्ट्रार रामु शर्मा र जिल्ला अदालत कास्कीका सूचना अधिकारी रामबहादुर किसानले छुट्टा–छुट्टै सुचना जारी गर्दै अनिश्चितकालका लागि पेशी सूची स्थगित भएको जानकारी दिएका हुन्।
दुवै अदालतका मिसिल, कागजपत्र, कम्प्युटरलगायत सम्पूर्ण संरचना मंगलबार प्रदर्शनकारीले लगाएको आगोले जलेर नष्ट भएको भन्दै पेशी सुची स्थगित गर्नुपरेको उनीहरुले बताएका छन् ।
उच्च अदालत पोखराका रजिष्ट्रार शर्माले जारी गरेको सुचनामा अदालतका मिसिल, कम्प्युटर, प्रिन्टर लगायत सम्पूर्ण भौतिक सामाग्री जलेर नष्ट भएको उल्लेख छ ।
यस्तै, जिल्ला अदालतका सुचना अधिकारी किसानले जारी गरेको हस्तलिखित अर्को सूचनामा प्रदर्शनकारीले लगाएको आगोले अदालत पूर्ण रुपमा जलेको उल्लेख छ ।
अर्को सूचना जारी नभएसम्म मुद्दा दर्तादेखि पेशी चढाउनेसम्मका सबै सेवा बन्द गरिएको उल्लेख गरेका छन् ।
दुवै अदालतले अदालती सेवा बन्द गर्नुपर्दा सेवाग्राहीलाई पर्न गएको असरप्रति दुख व्यक्त गरेको छ ।