पोखराको नयाँबजार र लेकसाइडमा जलेको अवस्थामा भएको शवको पहिचान खुलेको छ।
लेकसाइडको अंशुभरा ग्रुपको भवनमा भेटिएको शव २६ वर्षीया स्वस्थ्यानी खड्काको रहेको छ भने नयाँ बजारमा भेटिएको शव अन्दाजी ३५ वर्षीय सञ्जु नगरकोटीको रहेको कास्की प्रहरीले जनाएको छ।
उनीहरू दुबै जना मंगलबार प्रदर्शनकारीले लगाएको आगोमा जलेर मृत्यु भएको पनि प्रहरीले जनाएको छ।
जलेको अवस्थामा भेटिएको स्वास्थ्यानी पोखराकै एक स्पामा काम गर्ने युवती भएको पनि प्रहरीले जनाएको छ।
अंशुभरा ग्रुपको भवनमा रहेका बेला प्रदर्शनकारीले आगजनी गरेको र सोही आगोमा जलेर मृत्यु भएको भएको थियो। उनको स्थायी ठेगाना दैलेखको बैतेश्वर गाउँपालिका वडा नम्बर– ८ रहेको प्रहरीले जनाएको छ।
यस्तै, नयाँ बजारमा शव भेटिएका अर्की महिला सञ्जु गत असार १ गतेदेखि मात्र उक्त सोरूममा काम थालेकी थिइन्। त्यसअघि उनी घरेलु कामदारका रूपमा काम गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ।
उनको स्थायी ठेगाना सिन्धुपाल्चोक भएको बुझिए पनि अझै पालिका र वडा यकिन भइनसकेको कास्की प्रहरीले जानकारी दिएको छ।
प्रदर्शनकारीले गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको लेकसाइडस्थित अंशुभरा ग्रुपको व्यावसायिक भवन र उनका भाइ ध्रुब थापाले नयाँ बजारमा चलाएको अटो सोरूममा मंगलबार आगजनी गरेका थिए। सोही आगजनीमा जलेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।