महोत्तरीमा भोलि बिहानसम्म कर्फ्यू त्यसपछिका लागि निषेधाज्ञा जारी गरिएको छ।
जिल्लाको पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
जिल्लामा सार्वजनिक सम्पत्ति र जनताको जनधनको सुरक्षाको लागि कर्फ्यू तथा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालद्वारा जारी आदेशमा उल्लेख छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ 'ख' बमोजिम तोकिएका स्थानलाई ‘दंगाग्रस्त क्षेत्र घोषणा गरी दफा ६ 'क' र ६ 'ख' बमोजिम कर्फ्यू तथा निषेधाज्ञा आदेश जारी गरिएको हो।
२७ भदौ शुक्रबार साँझ ७ बजेदेखि २८ भदौ शनिबार बिहान ६ः३० बजेसम्म कर्फ्यू महोत्तरी जिल्लाका सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाइएको छ।
कर्फ्यूका समयमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, समूह बनाइ हिँड्न, बैठक वा घेराउ गर्नमा रोक लगाइएको छ।
२८ गते शनिबार बिहान ६ः३० बजेदेखि साँझ ७ बजेसम्म भने जिल्लभर निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञाका समयमा भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता सामग्री टाँस्न वा लेख एवम् शान्ति र व्यवस्थामा असर हुने कुनै कार्य गर्न नपाउने र एकै ठाँउमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नगर्न भनिएको छ।
आज साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कार्यको लागि आवतजावत गर्न सकिने प्रजिअद्वारा जारी आदेशमा उल्लेख छ।
महोत्तरीमा जेन जी प्रदर्शनकारीको आन्दोलन उग्र बनेपछि २४ भदौ साँझदेखि नै कर्फ्यू आदेश जारी गरिएको थियो। आन्दोलनका क्रममा जलेश्वर कारागारबाट कैदीबन्दी समेत भगाइएको थियो।