बारामा भोलि बिहानसम्मका लागि कर्फ्यू लगाइएको छ।
स्थानीय प्रशासनले बारा जिल्लाभर आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको हो।
भदौ २७ शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि जिल्लाभर कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जारी गरेको आदेशमा अवान्छित गतिविधि तथा क्रियाकलाप हुन नदिन र जिल्लाको शान्ति सुरक्षा एवं अमनचयन कायम गर्न कर्फ्यू लगाइएको उल्लेख छ।
विषम परिस्थितिको अनुचित फाइदा उठाउने उद्देश्यले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा क्षति, लुटपाट एवम् आगजनी गर्ने, व्यक्ति लक्षित हिंस्रक आक्रमण रोक्न कर्फ्यू आदेश जारी गर्नुपरेको प्रशासनले जनाएको छ।
स्थानीय प्रशासनका अनुसार कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्नेछन्।