दाङमा खोलामा माछा मार्न गएका आमाछोरीको डुबेर मृत्यु भएको छ।
जिल्लाको लमही नगरपालिका – १ बसन्तपुरकी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिका सार्कीको स्थानीय खोलामा जाल (हेलुका) ले माछा मार्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए।
प्रहरी निरीक्षक पाण्डेका अनुसार शुक्रबार दिउँसो बुवा, आमा र छोरी सँगै माछा मार्न भनेर स्थानीय खोलामा गएका थिए।
त्यही क्रममा सबैभन्दा अगाडि रहेकी आमा किमा खोलाको गहिरो खाडलमा पसेकी थिइन्। आमा डुब्न लागेको देखेपछि छोरी होलिका पनि आमालाई बचाउन भनेर सोही खाडलमा पसेकी थिइन्। आमा र छोरी डुबेको देखेपछि बुवा भरत सार्की पनि उनीहरूलाई बचाउन भनेर सोही खाडलमा पुगेका थिए। त्यसक्रममा उनको खुट्टा जाली (हेलुका) मा अल्झिन पुगे। भरत मुस्किलले खाडलबाट निस्कन सफल भएको प्रहरी निरीक्षक पाण्डेले बताए।