मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
राक्सिराङ गाउँपालिका-१ इन्दुङ बस्ने ४२ वर्षीय रमेश थिङ पक्राउ परेका हुन्।
थिङलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
'२२ वर्षीया महिला आइतबार बिहान जाहेरी लिएर आएकी थिइन्, साँझ हामीले पक्राउ गर्यौं,' डिएसपी अर्यालले भने।
२२ वर्षीया चेपाङ समुदायकी एक महिलाले २७ गते श्रीमानलाई डोरीले बाँधेर आफूमाथि बलात्कार भएको बताएकी थिइन्। जंगलको बीचमा घर भएकाले घटना भएको तेस्रो दिनमात्र स्थानीयले थाहा पाएका थिए।
घटना थाहा भएपछि स्थानीय जनप्रतिनिधि र अगुवाहरूले आइतबार उनलाई प्रहरीकोमा लिएका गएका थिए।
यस घटनामा थप अनुसन्धान गरिरहेको डिएसपी अर्यालले जानकारी दिए।