लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले अन्तरिम सरकारलाई ११ बुँदे सुझाव दिएको छ।
मायाको पहिचान नेपालको केन्द्रीय कार्यालयमा भएको भेलाले अन्तरिम सरकारलाई माग सम्बोधन गर्न ११ बुँदे सुझाव दिएको हो।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको नेतृत्वमा सोमबार भएको भेलाले ११ बुँदे सुझाव दिएको हो।
१) भदौ २३ र २४ मा ज्यान गुमाएका शहीदहरूको परिवारलाई उचित क्षतिपूर्ति दिँदै, उनीहरूको दीर्घकालीन पुनःस्थापना सुनिश्चित गरियोस्।
२) आन्दोलनमा घाइते भएका सबैको निःशुल्क उपचार र सम्मानजनक जीवनयापनको व्यवस्था होस्।
३) मानव अधिकार उल्लघंन गर्नेमाथि स्वतन्त्र छानबिन होस्। (जस्तै: शान्तिपूर्ण प्रदर्शनकारीमाथि गोली चलाउने, हत्या गर्ने, सार्वजनिक तथा निजी सम्पत्ति जलाउने र लुटपाट गर्ने) साथै स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीहरूलाई कारबाही गरियोस्।
४) समावेशी र समानुपातिक प्रतिनिधित्व कायम गरियोस्। महिला, अल्पसंख्यक समुदाय, दलित, आदिवासी, जनजाति, मधेसी, अपांगता भएका व्यक्ति, पिछडिएका क्षेत्रका नागरिक र जेनजी पुस्ताका प्रतिनिधिहरूलाई समावेश गरियोस्।
५) भ्रष्टाचारविरूद्ध अल्पसंख्यक समुदाय सधै साथ हुनेछ।
६) ठूला भ्रष्टाचार काण्डहरू- ओम्नी, यती, एनसेल कर छुटजस्ता राष्ट्रियस्तरका भ्रष्टाचारको छिटो, निष्पक्ष र सार्वजनिक रूपमा छानबिन गरी दोषीलाई कारबाही माग गरियोस्।
७) सरकारी विभाग, प्रहरी प्रशासन, स्थानीय तह र ठूला कर्पोरेसनहरूमा मौलाएको भ्रष्टाचारको जरो उखेल्न स्वतन्त्र र सक्षम आयोग गठन गरी प्रभावकारी ढंगबाट छानबिन गरियोस्।
८) भ्रष्ट पदाधिकारी तथा राजनीतिक दलका नेताहरूको सम्पत्ति छानबिन गरी, अवैध रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण होस्।
९) आगामी निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने विषयलाई आफ्नो मुख्य चुनावी कार्यादेशको रूपमा स्वीकार गर्नुपर्नेछ, जसको कार्यकाल अधिकतम दुई पटकसम्म सीमित हुनुपर्नेछ।
१०) डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सुरक्षा गर्दै, अनलाइन निगरानीविरूद्धको सुरक्षा सुनिश्चित गर्न तत्काल डिजिटल अधिकार संरक्षण ऐन पारित गरियोस्।
११) अल्पसंख्यक समुदायप्रति हुने हिंसा, विभेद र दण्डहीनताको अन्त्य गर्न समानता र सुरक्षाको ग्यारेन्टी दिने नीति बनाएर लागू गरियोस्।
यीसँगै वातावरण संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा प्राकृतिक स्रोतको दोहनमा संलग्न भएकाहरूलाई समेत कारबाही गर्नुपर्ने उनीहरूको सुझाव छ।