गत शनिबार मृत्यु भएको भनिएकी बुटवलकी लक्ष्मी कुमालको उनकै श्रीमानले हत्या गरेको खुलेको छ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ३ पुलचोक बस्ने लक्ष्मी बिरामी परेको भन्दै उनका श्रीमान् प्रेमबहादुर कुमालले शनिबार बिहान अस्पताल लगेका थिए।
शनिबार बिहान ११ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएकोमा चिकित्सकले लक्ष्मीको मृत्यु भइसकेको बताएपछि उक्त घटना बाहिर आएको हो।
गुल्मीको इश्मा गाउँपालिका वडा नम्बर ६ घर भई बुटवलमा बस्दै आएका कुमालले श्रीमती लक्ष्मीलाई शुक्रबार राती ११ बजे राति छाताको रड र काठको ढोकामा लगाउने आग्लाले हानेर हत्या गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार प्रेमले मरणासन्न हुने गरी कुटपिट गरी रातभरि घरमै राखेर शनिबार बिहान मात्र बिरामी परेको भन्दै अस्पताल लगेका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार लक्ष्मीको मृत्यु भएपछि पोस्टमर्टमको प्रारम्भिक रिपोर्टमा कुटपिटबाट शरीरको भित्री भागमा गम्भीर चोट लागेको देखिएपछि बल्ल अनुसन्धान अगाडि बढाइएको थियो।
आमाको मृत्यु भएपछि उनकी १३ वर्षीया छोरीले बाबुले कुटपिट गरेको बताएपछि प्रहरीले प्रेम बहादुरलाई पक्राउ गरेको छ। मृतक लक्ष्मीका लक्ष्मीका १० महिना, ८ वर्ष र १३ वर्षका ३ छोरी छन्। मृतकका भाइ कमल मुखियाले भिनाजु प्रेमबहादुर कुमालले दिदीको हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।
उनको जाहेरी पछि प्रेम बहादुरलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।