नेपाली सेनाका २२ जना सवार ट्रक दुर्घटना भएको छ।
मंगलबार दिउँसो २:५० बजे मकवानवपुरको हेटौंडा उपमहानगरपालिका-१५ र बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ को सिमाना पर्ने चुरियामाइमा सेनाका जवान लगायतका कर्मचारी सवार ट्रक दुर्घटना भएको हो।
मकवानपुर प्रहरीका अनुसार प्रधानसेनापती ब्यानर प्रतियोगिताको ट्याक्टिकल फायरिङमा सहभागी हुन श्री नं. २ राजदल गणबाट चारवटा ट्रक खैरेनीटारबाट धनुषातर्फ जाँदै थियो।
त्यसमध्ये लु १ ग २८० नं.को ट्रक पुल बाट अन्दाजी १०/१२ फिट तल खोल्सामा खसेको मकवानपुर प्रहरीले जनाएको छ।
दुर्घटनामा १६ जना घाइते भएका छन्। तीमध्ये ६ जना गम्भीर घाइते भएका छन्।
गम्भीर घाइतेहरूमा हुद्दाहरू चक्रबहादुर बोहरा र हिरामान माझी, अमलदार टिकाराम कँडेल र सुनिल चौधरी, प्युठ भरत विक र सिपाही रोहित पाण्डे छन्।
उनीहरूलाई मंगलबार नै नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी वीरेन्द्र अस्पताल ल्याइएको छ। १० जना मध्यम घाइते छन्। उनीहरुलाई उपचारका लागि हैटौंडा अस्पताल लगिएको थियो। तीमध्ये ८ जना डिस्चार्ज भइसकेका छन्।